२०८२ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यदिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म

दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म


आज मन खुसीले अत्यन्तै आनन्दित भएको छ । भान्जी लक्ष्मी बजगाई कोशी प्रदेश लोकसेवा आयोगको परीक्षा पास गरेर पाँचौ तहको स्टाफ नर्समा नाम निकालेर सबै प्रक्रिया पूरा गरी निजामती सेवामा प्रवेश गर्न सफल भएकी छन्।

बाहिरबाट देख्ने र सुन्नेहरुका लागि यो केवल एक सामान्य उपलब्धि हो । सयौंले वर्षमा लोकसेवा पास गरेर निजामती सेवा प्रवेश गर्छन् । तर, लक्ष्मीका सन्दर्भमा यो केवल व्यक्तिगत उपलब्धि होइन। यो एक आमा र छोरीको संघर्ष, अठोट र आँशुले लेखिएको कथा हो।

यो कथाले भन्छ—अभावले सपना मर्दैन, असहज परिस्थितीभित्र पनि विश्वास र माया बाँचिरहँदा सफलता सम्भव छ।

संघर्षको बाटो

लक्ष्मीकी आमा प्रेमकला बजगाई एक साधारण तर असाधारण नारी हुन्।अछामको कमलबजार नगरपालिकी स्थायी वासिन्दा उनी हाल मंगलसेन नगरपालिकामा बसेर दुःखजिलो गर्दै आउनुभएको छ । शरीर कमजोर, आर्थिक अवस्था नाजुक तर मनको दृढता अटल।

घरको कठिन परिस्थिति, समाजको तिरस्कार र भविष्यको अनिश्चितताबीच पनि उहाँले एउटै सपना बोक्नुभयो, ‘मेरो छोरी पढोस् । आफ्नो खुट्टामा उभिओस्।’

वि.सं. २०७४ सालको एसईईपछि लक्ष्मीका साथीहरू सहरतिर पढ्न गएका थिए । तर, लक्ष्मीका हातमा सम्भावनाभन्दा बढी जिम्मेवारी थियो।

२८ साउन २०७५ मा दिदी प्रेमकलाले मलाई भन्नुभयो, ‘भाउ (भाइ) छोरीलाई पढाउन मन त छ । तर, बाटो र भरोसा छैन।’

अहिले पनि सम्झन्छु, त्यो पलमा मैले उहाँलाई भने, ‘दिदी काठमाडौं पठाइदिनु मैले गर्ने कोशिश गर्छु। दिदी, बाटो कठिन छ तर असम्भव छैन। ढुंगामा पनि फुल फुल्छ यदि माटोले ढुंगा पुर्ने साहस राखियो भने।’

लक्ष्मी काठमाडौं आइन । सुरुमा उनी एएनएम पढ्न चाहन्थिन् । तर, मैले भने, ‘भान्जी, तिमी एएनएम होइन, स्टाफ नर्स पढ।’
भनिन्छ, जहाँ समस्या छ, त्यहाँ उपाय पनि हुन्छ। सुरुमा केही महिना मैले उनलाई आफैसँग राखे। पछि साथीसँग बस्न सुरु गरिन्।

त्यसपछि सुरु भयो लक्ष्मीको कठिन तर उज्यालो यात्रा। काठमाडौंमा उनको दिन बिहान कलेजको पढाइ, दिउँसो र बेलुका संघर्ष र विश्वाससँग बित्न थाल्यो ।

पैसाको अभाव, घरको याद र असंख्य कठिनाइबीच पनि उनले हार मानिनन् ।

लक्ष्मीको आत्मबल र आमाको विश्वास मिलेर त्यो असम्भव सपना सम्भव भयो। जब आज उनले सरकारी सेवा प्रवेशको खबर सुनाउँदैं टेलिफोनमा भनिन्, ‘मामा धन्यवाद यात्राको चुटकिलो गन्तव्य भेटें । बाँकी संघर्षका दिनहरु त बाँकी नै छन् ।

त्यो केवल रोजगारीको समाचार थिएन। यो ढुंगा फुटाउने आमाको विश्वासको कठिन परिस्थितीमाथि विजय घोषणा थियो।

यो कथा केवल लक्ष्मीको होइन्, यो हजारौं आमाहरूको सपना हो । जसले आफ्नो सुख र स्वास्थ्य गुमाएर पनि सन्तानको उज्यालो भविष्य खोज्छन्।

प्रेमकलाले समाजलाई एक सन्देश दिनुभएको छ। छोरीलाई पढाएर के हुन्छ भन्ने प्रश्नको उत्तर छोरीकै सफलताबाट सिंगो समाजलाई दिन सफल हुनुभएको छ ।

त्यो सफलता जसले ढुंगाजस्तै कठोर परिस्थितीमा पनि सुन्दर जीवन भविष्यको फूल फुलाउँछ।

आज लक्ष्मीको उपलब्धि हाम्रो समाजका हरेक अभिभावकका लागि मार्गदर्शन बनेको छ । दिदी प्रेमकला र भान्जी लक्ष्मी सपना सानो भएपनि दृढ अठोटले ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने देखाउँछ।

ढुंगामा फुल फुल्ने कुरा केवल रूपक होइन, यो प्रेमकला र लक्ष्मीको जीवनमा घटेको यथार्थ हो। एक आमाको आँसु, एक छोरीको परिश्रम र समाजको परिवर्तनको सुगन्ध अब एकसाथ फुलिसकेको छ।

सच्चा श्रम कहिल्यै व्यर्थ हुँदैन। ढुंगामा फूल फुल्छ, जहाँ मातृत्वको आँशुमाथि सन्ततीको समर्पण हुन्छ । माया र समर्पणको न्यानोपनमै जीवल फूल्छ, फल्छ ।

धेरै धरै बधाई भान्जी लक्ष्मी।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ