काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । आइतबार अख्तियारले स्वास्थ्य सेवा विभागले खरिद गरेको मेमोग्राफी मेसिनमा भ्रष्टाचार गरेको आरोपमा डा. मिश्रा विरुद्ध मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
‘आज उहाँ विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ,’ उनले हेल्थआवाजसँग भने । पौडेलकाअनुसार डा. मिश्रासहित स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, तत्कालीन आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्रप्रसाद चौरासिया, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल, विभागका तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले लगायतका विरुद्ध मुद्धा दायर भएको छ ।
उनीहरु सबैसँग १४ करोड ६ लाख ८५ हजार ५०० सय रुपैयाँ विगोसहित कारवाही माग गरिएको छ ।
डा. संगीताले अहिलेको सरकारमा स्वास्थ्यमन्त्री हुनका लागि अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् । तर, उनीमाथि अख्तियारले भ्रष्टाचारको उजुरीमा अनुसन्धान गरिरहेको पाइएपछि उनी मन्त्री बन्नबाट रोकिएकी थिइन् ।