२०८२ कात्तिक ९, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित

नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित


काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटमा थपिने चार मन्त्रीको नाम राष्ट्रपति कार्यालय शितल निवास पुगेको छ । राष्ट्रपति कार्यालय स्रोतकाअनुसार चार जना मन्त्रीलाई आजै सपथ गराउने गरी तयारी अगाडि बढाइएको छ ।

पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाम स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा राष्ट्रपति समक्ष सिफारिस गरिएको छ । ‘उहाँ (डा. सुधा)को नाम स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा सिफारिस गरिएको लिष्ट हामी कहाँ आएको छ,’ राष्ट्रपति कार्यलय स्रोतले भन्यो, ‘उहाँहरुको आजै सपथ गराउने तयारी छ ।’

उनी नेपाल चिकित्सक संघ (एनएमए)को पूर्व अध्यक्षसमेत हुन् । प्रधानमन्त्री कार्कीले डा. शर्मासहित अन्य तीन जना गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्तालाई पनि आफ्नो क्याबिनेटमा थप्ने तयारी गरेकी छन् । कार्की क्याबिनेट चार जना थपिएसँगै १२ सदस्सीय पुग्नेछ ।

नयाँ स्वास्थ्यमन्त्री डा. शर्माले भारतको राजेन्द्र मेडिकल कलेज राँची झारखण्डबाट एमबीबीएस गरेकी हुन् । उनले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट डिजिओ गरेकी छन् भने बेलायतस्थित रोयल कलेज अफ लण्डनबाट फेलोसीप गरेकी छन् ।
डा. शर्माले त्रिभुवन विश्वविद्यालयबाट माष्टर्स अफ पब्लिक हेल्थमा गोल्ड मेडल हात पारेकी थिइन् ।

उनी दुई वर्ष परोपकार स्त्री तथा प्रसूति अस्पतालको रजिष्ट्रार भइन् भने १० वर्ष प्राध्यापक तथा चिफ कन्सल्ट्यान्टमा रुपमा काम गरिन् । एक वर्ष चार महिना प्रसूति गृहको निर्देशकका रुपमा पनि उनले काम गरिन् ।

डा. शर्माले सन् २००८ देखि २०११ सम्म तीन वर्ष तीन महिना स्वास्थ्य सचिवका रुपमा स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्व गरेकी थिइन् । सरकारी सेवाबाट अवकास भएपछि उनले युनिसेफ र डिएफआईडीमा झण्डै ६ वर्ष काम गरिन् ।

डा. शर्मा पछिल्ला सात वर्षदेखि सिविक ट्राभल मेडिसिन सेन्टरको सह निर्देशकका रुपमा सक्रिय थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ