काठमाडौं—नेपाल नर्सिङ संघले पारिश्रमिकलगायतका नर्सहरुका मागहरु ४८ घण्टाभित्र पूरा गर्न अल्टिमेटम दिएको छ । आइतबार नर्सिङ संघले एक विज्ञप्ती जारी गर्दै ४८ घण्टाभित्र मागहरु पूरा नभए इमर्जेन्सीबाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
संघले ४८ घण्टाभित्र मागहरु सम्बोधन नभएमा सरकारी, निजी, गैरसकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यकबाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु ठप्प पार्ने जनाएको छ । ‘४८ घण्टाभित्र हाम्रो मागहरु सम्बोधन नभएमा सरकारी, निजी, गैरसकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यकबाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा देशव्यापी ठप्प पार्ने घोषणा गर्दछौं,’ संघले भनेको छ ।
संघले आन्दोलनमा उत्रिसकेका नर्सहरुलाई कुनै प्रकारको दबाब, प्रभाव, डर, त्रास वा धम्की नदिनसमेत सचेत गराएको छ । संघले १५ कात्तिकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका भएको बैंठकमा सरकारीसरह न्यूनतम पारिश्रमिकलगायत अन्य सेवा सुविधा सुनिश्चितता गर्ने सहमति भएताको थियो ।
तर, अन्य बुँदाहरुमा सहमति नभएको भन्दैं आन्दोलनरत नर्सहरु नेपाल नर्सिङ संघको कार्यलय घेराउ गरेका थिए । त्यसपछि आइतबार नेपाल नर्सिङ संघ र आन्दोलनरत नर्सहरुबीच आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने सहमति भएको थियो । सोही सहमतिअनुसार संघले ४८ घण्टाभित्र आन्दोलनरत नर्सका मागहरु सम्बोधन गर्न अल्टिमेटम दिएको हो ।
