२०८२ कात्तिक १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं

कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं


काठमाडौं—कोशी प्रदेशका दुई जिल्लामा बहु—दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन सुरु भएको छ । सेन्टर फर रिसर्च एण्ड इम्प्लीमेन्टेसनले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा सुनसरी र मोरङमा उक्त अध्ययन सुरु गरेको हो ।

‘इम्प्लीमेन्टेसन एण्ड इभालुएसन अफ नोभल को डिजाइन इन्टीग्रेटेड मल्टीममोरबिडिटी म्यानेजमेन्ट (टाइप टु हाइब्रिड इम्प्लीमेन्टेसन ट्रायल)’ सम्बन्धी अध्ययन कक्षको समेत उद्घाटनसमेत सम्पन्न भएको छ । टाइप टु हाइब्रिड इम्प्लीमेन्टेसन ट्रायल अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयु)को अगुवाईमा, एनएचएमआरसी र जीएसिडीको सहयोगमा सुनसरी र मोरङ जिल्लामा सञ्चालन हुँदैंछ । अष्ट्रेलियन नेशनल युनिभर्सिटीका प्राध्यापकहरुले अध्ययनको विस्तृत जानकारी कार्यक्रममा दिएका थिए ।

स्थानीय सामुदायिक स्वास्थ्यकर्मीहरु जो आफ्नै समुदायमा गहिरोसँग जाडिएका छन् र नेपालको प्राथमिकता स्वास्थ्य प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकाहरु अध्ययनको केन्द्रमा छन् । डा. युएन यादवले नेपालका समुदायमा बहु-दीर्घरोगको प्रभाव गहिरो बताउँदैं यसको पछाडि धेरै जटिल कारणहरू रहेका बताए । ‘नेपालका धेरैजसो समुदायमा स्वास्थ्य साक्षरता अत्यन्तै न्यून छ—अधिकांश मानिसहरू बहु-दीर्घरोगको व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा अनभिज्ञ छन्,’ डा. यादव भन्छन् ।

‘उपलब्ध प्राथमिक स्वास्थ्य सेवा गुणस्तरीय छैन् । कतिपय चिकित्सकले एउटा रोगको उपचार त गर्छन् तर अन्य स्वास्थ्य समस्यालाई बेवास्ता गर्छन्। जब रोगका लक्षणहरू अपेक्षित सुधार देखाउँदैनन्, तब मानिसहरू घरेलु वा परम्परागत उपचारतर्फ आकर्षित हुन्छन्।’

पश्चिमी संस्कृतिको प्रभावले खानपानमा परिवर्तन ल्याएको छ, जसले गर्दा समुदायमा दीर्घरोगको जोखिम झनै बढेको छ। डा. यादवका अनुसार यस्ता रोगहरूको व्यवस्थापन एकल दृष्टिकोणबाट सम्भव छैन—समग्र रूपमा सोच्न आवश्यक छ। विशेषगरी समुदायस्तरमा स्वास्थ्य सम्बन्धी व्यवहार परिवर्तन गराउनु चुनौतीपूर्ण कार्य भएको उलन बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेलले नेपालमा बहु-दीर्घरोग (multimorbidity) व्यवस्थापनका लागि व्यवहार परिवर्तनको महत्त्वलाई जोड दिए। उनकाअनुसार दीर्घरोग भएका व्यक्तिहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्ने कार्यक्रमहरू दीर्घकालीन सुधारका लागि अत्यावश्यक छन्।

त्यसैगरी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. नरेन्द्र भट्टले नेपालमा औषधीको अत्यधिक प्रयोगको चुनौतीबारे प्रकाश पारे । उनले बहु(दीर्घरोगको प्रभावकारी व्यवस्थापनका लागि उपयुक्त क्लिनिकल मार्गनिर्देशन (clinical guidelines) को आवश्यकता रहेको उल्लेख गरे । ‘जसले चिकित्सकहरूलाई सुसंगत र सन्तुलित उपचार निर्णय लिन सहयोग पुर्‍याउनेछ,’ उनले भने ।

‘सामुदायिक स्वास्थ्यकर्मी सेवा मोडेल पाँच वर्षसम्म मोरङ र सुनसरी जिल्लामा कार्यान्वयन गरिनेछ, जसको उद्देश्य नेपालका विपन्न समुदायमा बहु-दीर्घरोग भएका व्यक्तिहरूको स्वास्थ्य र जीवनस्तर सुधार गर्नु हो,’ डा. यादवले भने, ‘यो मोडेलले सामुदायिक स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्नेछ ताकि उनीहरूले बिरामी तथा परिवारको स्वास्थ्य साक्षरता र आत्म-व्यवस्थापनको आत्मविश्वास बढाउन सकून्। साथै, प्राथमिक स्वास्थ्य सेवाभित्र समन्वय र रिफरल प्रक्रियामा सहयोग पुर्‍याउनेछ।’

कार्यक्रममा प्रमुख अतिथिको रूपमा कोशी प्रदेशका स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरे रहेका थिए।

उद्घाटन समारोहमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापकहरू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का पूर्व सचिव डा. पोखरेल, कोशी प्रदेशका स्वास्थ्य क्षेत्रका विषय विज्ञहरूले बहुरोग व्यवस्थापनमा यस अध्ययनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ