काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर गरेकी छन् । बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री शर्माले ११ औं तहका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर गरेकी हुन् ।
उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को जिम्मेवारी डा. रोशन न्यौपानेलाई दिएकी छन् ।
यसअघि इडिसिडीका प्रमुख रहेका डा. चन्द्रभाल झालाई कोशी अस्पतालमा सरुवा गरिएको छ । डा. प्रकाश शाहलाई गजेन्द्रनारायण सिंह अस्पतालबाट किटजन्य रोग अनुसन्धान केन्द्र हेटौडामा पठाइएको छ । उनको ठाउँमा डा. नागेन्द्र यादवलाई लगिएको छ ।
नारायणी अस्पतालका निर्देशक डा. चुमनलाल दासलाई मन्त्रालयमा ल्याइएको छ । नारायणी कामकाजमा लागि मात्रै भनेर डा. चित्तरन्जन साहलाई जिम्मेवारी तोकिएको छ ।
परिवार कल्याण महाशाखाको जिम्मेवारी डा. मदन उपाध्यायलाई दिइएको छ । यसअघि डा. उपाध्याय वीर अस्पतालमा थिए । यसअघि परिवार कल्याण महाशाखा प्रमुख रहेका विवेक लाल अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेपछि निलम्बनमा परेका छन् ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक डा. केशवराज पण्डितको पनि जिम्मेवारी हेरफेर गरिएको छ । डा. पण्डितलाई व्यवस्थापन महाशाखामा लगिएको छ ।
मन्त्रालयका फाजिलमा रहेकी डा. राधिका थपलियालाई राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा लगिएको छ ।
डा. पवनजंग रायमाझीले उपचारात्मक सेवा महाशाखाको जिम्मेवारी पाएका छन् । यसअघि उनी व्यवस्थापन महाशाखामा थिए ।