विराटनगर—चिकित्सा शिक्षा आयोगले एमबीबीएस इन्ट्रान्सको नतिजा सार्वजनिक गरेपछि सुनसरीको बराहाक्षेत्र नगरपालिकाको एउटा सामान्य किसान परिवारमा खुसीको सीमा रहेन । त्यो खुसीको कारण थिइन्—उक्त परिवारकी माइली छोरी २१ वर्षीया विभा कुमारी नायक ।
जसले हजारौं प्रतिस्पर्धीपछि पार्दै छात्रातर्फ नेपाल प्रथमको ऐतिहासिक सफलता हासिल गरेकी थिइन् । समग्रमा पनि छैटौं स्थानमा आफ्नो नाम दर्ता गराउन सफल भएकी विभाको यो यात्रा कुनै चमत्कार होइन् बरु निरन्तरको परिश्रम, स्वअध्ययन र दृढ संकल्पको प्रेरणादायी कथा हो ।
सुनसरीको बराहाक्षेत्र–११ मा बुवा श्यामप्रसाद र आमा सानोदेवी नायकको सन्तानका रुपमा ३० असोज २०६१ म जन्मिएकी विभा चार छोरी र एक भाइमध्येकी माइली सन्तान हुन् । उनको परिवार कृषिमा निर्भर छ । खेतबारीको काम र पशुपालनबाटै गुजारा चलाउने यो परिवारका लागि छोराछोरीलाई उच्च शिक्षा दिनु आफैंमा एउटा संघर्ष हो ।
तर, विभाका अभिभावकले कहिल्यै आफ्ना सन्तानको पढाइमा सम्झौता गरेनन् । विभा सानैदेखि पढाइमा अब्बल र स्वभावमा शान्त थिइन् । उनलाई कहिल्यै अभिभावक वा शिक्षकले गाली गरेको सम्झना उनका अभिभावकलाई छैन ।
‘सानैदेखि सबैले असल बानी भएको भन्थे, मेरो पहिलो प्राथमिकता सधैं पढाइ नै रह्यो,’ विभा आफ्नो बाल्यकाल सम्झिन्छिन् । उनको यो लगनशीलता देखेर बुवा श्यामप्रसाद पनि दंग पर्थे । ‘विद्यालयले दिएको गृहकार्य नसकी कहिल्यै अरू काम गर्दैनथी । उसको लगन असाध्यै राम्रो थियो,’ श्यामप्रसाद गर्वका साथ सुनाउँछन् ।
विभाले स्थानीय मोहन माध्यमिक विद्यालयबाट ३.७ जीपीए ल्याएर एसईई उत्तीर्ण गरिन् । त्यसपछि विज्ञान विषयमा उच्च शिक्षा हासिल गर्न विराटनगर आइन् । दिदीहरूको सल्लाहमा उनले विराटनगरको प्रतिष्ठित शिक्षादीप कलेजमा भर्ना भइन्, जुन उनको जीवनको एउटा महत्वपूर्ण मोड बन्यो ।
विभाको सफलताको रहस्य कुनै ट्युसन सेन्टर वा रातभरको रटाइबाट सम्भव भएको होइन् । उनको सफलताको सूत्र हो– मौलिकता, स्वअध्ययन र विषयवस्तुको गहिराइसम्म पुग्ने बानी । ‘मैले अरूले के गर्छन् भनेर कहिल्यै नक्कल गरिनँ,’ उनी भन्छिन्, ‘म चौबीसै घण्टा पढ्दिन तर जति पढ्छु, बुझेर मात्र पढ्छु ।’
विभा बावु श्यामप्रसाद र भाइ सुजलसँग ।
उनी कक्षाकोठामा शिक्षकले पढाएको हरेक कुरालाई ध्यान दिएर सुन्ने र त्यसलाई पूर्ण रूपमा नबुझी अर्को पाठमा प्रवेश नगर्ने बताउँछिन् । ‘मेरो लेखनशैली राम्रो छ, सबै विषयलाई विश्लेषण गरेर लेख्न सक्छु, त्यसैले पनि मलाई परीक्षामा सजिलो भयो होला,’ उनी आफ्नो सफलताको फर्मुला सुनाउँछिन् । परीक्षा हलमा बस्दा आफूले राम्रो गरेको महसुस भएपनि छात्रातर्फ नेपालकै टपर बन्छु भन्नेचाहिँ नसोचेको उनी बताउँछिन् । ‘नतिजा आउँदा असाध्यै खुसी लाग्यो । सोचेभन्दा धेरै राम्रो उपलब्धि हात पारेछु,’ उनले भनिन् ।
सानैदेखि डाक्टर बन्ने सपना साँचेकी विभाको सपना अब साकार हुने चरणमा छ । उनी काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा एमबीबीएस पढ्ने योजनामा छिन् । तर, उनको लक्ष्य एमबीबीएसमा मात्र सिमित छैन । उनी भविष्यमा एक कुशल न्यूरो सर्जन बनेर बिरामीको सेवा गर्न चाहन्छिन् । ‘सानैदेखिको डाक्टर बन्ने सपना थियो । अब त्यो पूरा हुने भयो,’ उनी उत्साहका साथ भन्छिन्, ‘एमबीबीएस सकेर न्यूरो सर्जन बन्ने मेरो लक्ष्य छ ।’
विभाको ऐतिहासिक सफलताले उनको परिवारलाई मात्र होइन, उनी अध्ययनरत शिक्षादीप कलेजलाई पनि गौरवान्वित बनाएको छ । कलेजले एक कार्यक्रम आयोजना गरी विभालाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै विभाले आफ्नो सफलताको श्रेय निरन्तरको लगनशीलता, कलेजको अनुशासित शैक्षिक वातावरण र गुरुहरूको कुशल मार्गदर्शनलाई दिइन् । ‘मेहनत र सही दिशानिर्देश भयो भने सफलता अवश्य मिल्छ । म आफ्नो कलेज, शिक्षकहरू र परिवारप्रति सधैँ आभारी रहनेछु ।’
कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विभाको सफलताले कलेज र विराटनगरकै शिर उच्च बनाएको बताए । ‘हाम्रा एक दर्जनभन्दा बढी विद्यार्थीले यसपटक एमबीबीएस प्रवेश परीक्षामा नाम निकालेका छन्, यो हाम्रो लागि गर्वको कुरा हो,’ उनले भने, ‘हाम्रो लक्ष्य शिक्षादीपलाई देशकै नम्बर एक कलेज बनाउनु हो र यो नतिजाले हामीलाई थप ऊर्जा दिएको छ ।’
शिक्षादीप कलेजले विगतमा पनि यस्तै उत्कृष्ट नतिजा दिँदै आएको छ । वि.सं. २०७९ मा पनि यसै कलेजकी छात्रा अदिती कुमारी जैनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा छात्रातर्फ टपर बन्ने गौरव प्राप्त गरेकी थिइन् ।