२०८२ कात्तिक ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा

दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा


जुम्ला—गुठीचौर गाउँपालिका–२ गोठी गाउँस्थित इलाका स्वास्थ्य चौकीमा एक दिने प्रजनन स्वास्थ्य तथा महिलाको पाठेघर सम्बन्धी शिविर सञ्चालन गरिएको छ । सर्वोदय नेपाल जुम्लाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा वडा नम्बर १ र २ का १ सय १० जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । प्रजनन स्वास्थ्य तथा पाठेघर सम्बन्धी समस्या पहिचान र उपचारमा पहुँच बढाउने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको सर्वोदय नेपाल जुम्लाका सामाजिक परिचालक मित्रराज खत्रीले बताए। उनका अनुसार महिलाको प्रजनन स्वास्थ्यमा पहुँच बढाउन र समस्या पहिचान गर्न शिविर प्रभावकारी भएको छ ।

स्वास्थ्य जाँचका क्रममा पाठेघर सम्बन्धी समस्या देखिएका १४ जना महिलालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ । शिविरको नेतृत्व स्त्रीरोग विशेषज्ञ डा. सागर कोइरालाले गरेका थिए । डा. कोइरालाकाअनुसार सरसफाइको कमीले महिलाहरूमा सामान्य पाठेघर सम्बन्धी समस्या देखिने गरेको छ ।

विशेषगरी महिनावारी भएको बेला व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन उनको सुझाव छ । ग्रामीण क्षेत्रका धेरै महिलाहरू पाठेघर सम्बन्धी समस्या खुलस्त रूपमा बताउन लजाउने गरेको उनले । डा. कोइरालाका अनुसार लजाउँदा उपचारमा ढिलाइ हुने भएकाले पछि गम्भीर जटिलता र क्यान्सर हुने जोखिम बढ्न सक्ने अवगत गराए ।

महिलाहरूलाई दैनिक जीवनमै देखिन सक्ने केही लक्षणप्रति सावधान रहन समेत उनले आग्रह गरेका छन् ।

उनकाअनुसार सेतो पानी बग्ने, यौनीको भाग चिलाउने, तल्लो पेट दुख्ने र महिनावारी अनियमित हुनेजस्ता समस्या देखिएमा तुरुन्तै स्वास्थ्यकर्मीलाई जानकारी दिन सुझाएका छन् । लजाएर बस्ने बानीकै कारण धेरै महिलामा जटिल समस्या देखिने गरेको उनको भनाइ छ ।

पाठेघरका समस्या समयमै खुलेर भन्न सके उपचार सरल र प्रभावकारी हुन्छ । डा. कोइरालाले सरसफाइको कमीले धेरै महिलामा पाठेघरको समस्या देखिने बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ