काठमाडौं—शनिबार अपरान्ह ३ बजे । ठमेलस्थित संसारकै ४४ औं वेस्ट क्लब एलओडी लर्डस अफ डिंक्स)मा संगीत पारखीहरु ओइरिन थालिसकेका थिए । अरु बेला प्रायः दिनभर सुनसान र रातभर जाग्राम रहने एलडिओमा शनिबार दिउँसै माहोल गर्माइसकेका थियो ।
त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी एलओडीमा गुन्जिदैं थिए । जब साँझको ६ बज्यो ‘जब पेशा र रुचि भेटिन्छन्’ कार्यक्रममार्फत प्रा.डा. भण्डारी एकल विशेष सांगीतिक माहोलमा प्रस्तुत भए ।
आफ्नै गायन र संगीत रहेको ‘निलो आकाश…’ गीतमार्फत स्रोतमाझ प्रस्तुत भएका प्रा.डा. भण्डारीले ‘तिमी नै तिमी…’ र ‘तिम्रो माया…’मार्फत सांगीतिक माहोल तताए । जीवनकै पहिलो सोलो कन्सर्टमा प्रस्तुत भएका यी सर्जनले ‘चाइना कम्पनी…’ मार्फत दर्शकमा जोश भरे ।

एलओडीको शनिबारको भब्य जमघटमा उनले ‘आकाशैमा…’, ‘यो जिन्दगानी…’, ‘कति बस्यौ…’, ‘एकै नजरमा…’, ‘फुल बुट्टे सारी…’, ‘सिरीमा सिरी…’, ‘कसरी भनूँ…’ ‘एउटा जीवन…’, ‘मिठो कहानी…’ जस्ता गीतहरुमार्फत स्रोतालाई नचाए ।
प्रा.डा. भण्डारीले आफूहरुको फुटसल टिमका साथीहरुका लागि हिन्दी गीत ‘यो दोस्ती…’ गाए । ‘चञ्चले कान्छी…,’ ‘फुलचोकीको…’ सहित १७ वटा गीत प्रस्तुत गरेपछि ‘ओढेर…’ गीतमार्फत आफ्नो प्रस्तुतीको बिट मारे । झण्डै २ घण्टा चलेको सांगीतिक माहोलमा स्रोताहरुले प्रा. डा. भण्डारीको गायनबाट भरपूर आनन्द लिएका थिए ।
प्रा.डा. भण्डारीलाई रोशन श्रेष्ठ, देव लामा र टिमको सहयोग रहेको थियो भने भने कार्यक्रमको प्रस्तोताका रुपमा सन्जय सिलवाल रहेका थिए । कार्यक्रममा एक जना लक्की स्रोतालाई गोला प्रथाबाट गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक रहेका प्रा.डा. भण्डारी नेपालका अग्रणी कलेजो प्रत्यारोपण सर्जन हुन् । शिक्षण अस्पतालको सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख रहेका प्रा.डा. भण्डारीकै अगुवाईमा नेपालमै पहिलोपटक इन्डिपेन्डेट कलेजो ट्रान्सप्लाट भएको थियो ।
संगीतलाई प्यासनका रुपमा अँगाल्दैं आएका प्रा.डा. भण्डारीका झण्डै आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । २९ वर्षअघि एमबीबीएस अध्ययन गर्दा नै संगीत कर्म लागेका प्रा.डा. भण्डारीले सन् १९९६ मै पहिलो गीत ‘चिसो चिसो हावा चल्छ…’ रेकर्ड गराएका थिए । पछिल्ला केही वर्षयता उनी गायनसँगै, गीत रचना र कम्पोजिसनमा पनि सक्रिय छन् ।
