काठमाडौं—प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले अकुपञ्चर सेवाको सरकारी तहबाट प्रोत्साहन र संरचनागत विकास जरुरी भएको बताएका छन् । शनिबार विश्व अकुपञ्चर दिवस २०८२ को अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दैं उनले नेपालमा अकुपञ्चर सेवा निजी क्षेत्रमार्फत धेरै अगाडि बढेको बताए ।
‘सरकारी तहबाट प्रोत्साहन र संरचनागत विकासका लागि प्रयास सुरु भएका छन् । सरकारी स्तरमा प्रवद्र्धन अझै अपर्याप्त रहेको, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरूमा सहायक जनशक्तिबाट सेवा सञ्चालन भएको, केही सरकारी आयुर्वेद अस्पतालमा सेवा विस्तार भएको जस्ता विषयले भविष्यमा यस क्षेत्रलाई राज्य–संरचनाभित्र समेट्ने आशा जगाएको छ,’ उनले भने ।
घिमिरेले नेपालको स्वास्थ्य प्रणालीले आधुनिक चिकित्सा मात्र होइन, प्रभावकारी वैकल्पिक चिकित्सा विधिहरूलाई पनि समान प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यकता भएको बताए । त्यसका लागि नीति निर्माणदेखि बजेट विनियोजनसम्म अकुपञ्चर तथा प्राकृतिक उपचार क्षेत्रलाई समावेश गर्नु आजको आवश्यकता भएको उनको भनाइ थियो ।
‘जनस्तरमा जागरण, दक्ष जनशक्ति उत्पादन, अनुसन्धान, नियमन र सेवा विस्तार—यी सबै कदम राज्य र निजी क्षेत्रबीचको सहकार्य बिना सम्भव छैन्,’ सभामुख घिमिरेले भने । निजी क्षेत्रबाट १५ वर्षभन्दा बढी समयदेखि विशेषज्ञ सेवा प्रदान भइरहेकै अवस्थामा, सरकारी तहमार्फत सेवा विस्तार अब ढिलो हुन नहुनेमा उनले जोड दिए ।
विश्व अकुपञ्चर दिवस २०८२ समारोह समितिका संयोजक अकुं. सुदर्शन बस्नेतले कोदारी राजमार्ग निर्माणसँगै नेपालमा अकुपंचर भित्रिएको मानिएको बताए। ‘कोदारी राजमार्ग निर्माणका क्रममा चिनियाँ प्राविधिकसँगै उनीहरुको उपचारका लागि अकुपचरिस्ट पनि नेपाल पठाइन्थ्यो,’ उनले भने, ‘नेपालमा औपचारिक रुपमा भने २०३१ सालबाट अकुपंचर पद्धतिबाट उपचार सुरु भएको हो।’
बस्नेतकाअनुसार वि.सं. २०८१ सालसम्मको तथ्यांकअनुसार नेपालमा १८५ जना अकुपंचरिस्ट छन् । तीमध्ये नेपाल हेल्थ प्रोफेसनल काउन्सिल (एनएपिसी) मा १६५ जना र नेपाल आयुर्वेद मेडिकल काउन्सिल (एनएएमसी)मा २० जना दर्ता भएका छन् ।
विश्वभरका वैज्ञानिकहरू, चिकित्सकहरू र शोधकर्ताहरूले ब्राजिलमा सन् २०११ मा आयोजना भएको महत्त्वपूर्ण सम्मेलनमार्फत नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवसका रूपमा मनाउने गरिन्छ । २०७९ मंसिर ६ गते काठमाडौंमा औपचारिक रूपमा पहिलो पटक विश्व अकुपञ्चर दिवस मनाएपछि यस दिवसले नेपालमा पनि महत्व पाउन सुरु गरेको छ ।
अकुपञ्चर कुनै वैकल्पिक वा पूरक उपचार मात्र होइन, विश्व स्वास्थ्य संगठनद्वारा प्रमाणित र मान्यताप्राप्त चिकित्सा विज्ञान हो । विश्वमा लाखौं दक्ष अकुपञ्चर जनशक्ति छन् भने १९० भन्दा बढी देशमा अकुपञ्चर सेवा विस्तार भइसकेको छ ।
अकुपञ्चर विशेषगरी— नसा–सम्बन्धी समस्या, दुखाइ, वाथ रोग, महिनावारीको पीडा, माइग्रेन, अनिद्रा, नसाका कारण उत्पन्न पिसाबका समस्या, तथा प्यारालाइसिसजस्ता समस्यामा अत्यन्त प्रभावकारी विधि मानिन्छ । साथै, शरीरमा प्रतिरक्षा प्रणाली वृद्धि गर्न समेत अकुपञ्चरले महत्वपूर्ण भूमिका खेल्ने वैज्ञानिक प्रमाणहरू उपलब्ध छन् ।