२०८२ मंसीर ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकानुन विपरित मुल्यवृद्धि गरेका महानिर्देशक ढकाललाई राखेर औषधी व्यवस्था विभाग सुधार्न कार्यदल

कानुन विपरित मुल्यवृद्धि गरेका महानिर्देशक ढकाललाई राखेर औषधी व्यवस्था विभाग सुधार्न कार्यदल

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकालको नेतृत्वमा कार्यदल


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले २४०० भन्दा बढी ब्राण्डका औषधीको कानुन विपरित मुल्यवृद्धि गरेका औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई समेटेर औषधी व्यवस्था विभागको समग्र सुधार गर्न कार्यदल बनाएकी छन् । २ मंसिरमा मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री डा. शर्माले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकालको संयोजकत्वमा उक्त कार्यदल बनाएकी हुन् ।

‘औषधी व्यवस्था विभाग समग्र सुधारसहित पञ्चवर्षीय रणनैतिक कार्ययोजनाको मस्यौदा तर्जुमा सम्बन्धि कार्यदल’ नाम दिएर कार्यदल बनाइएको छ । उक्त कार्यदलमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रदीप ज्ञवाली, औषधी व्यवस्था विभागका महानिर्देशक ढकाल, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. सङ्घरत्न बज्राचार्य, राष्ट्रिय औषधी प्रयोगशालाका निर्देशक भरत भट्टराई, उपचारात्मक सेवा महाशाखामा प्रमुख डा. पवनजंग रायमाझी, फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्वल पाण्डे, औषधी व्यवस्था विभागका पूर्व महानिर्देशक बालकृष्ण खकुरेल सदस्य छन् ।

कार्यदलको सदस्यसचिवमा भने गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्मा रहेका छन् । मस्यौदा कार्यदललाई एक महिनाको समयसीमा तोकिएको छ ।

महानिर्देशक ढकालले २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि गरेर विवादमा तानिएपछि उनलाई हटाउनुपर्ने दबाबमा मन्त्री डा. शर्मा छन् । तर, जेनजीहरुसँग डा. शर्माले ढकालले औषधीमा मुल्यवृद्धि नगरेको जवाफ दिएर औषधीको मुल्यवृद्धिजस्तो संवेदनशील विषयलाई मिडियाबाजी भएको भन्दैं गलत व्याख्या गर्ने गरेकी छन् । जबकी, औषधीमा कानुन विपरित मनोमानी रुपमा मुल्यवृद्धि गरेको समाचार हेल्थआवाजले प्रमाणसहित प्रकाशित गरिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ