काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मूलभूत सेवाहरु सिंहदरबार परिसरभित्रबाट प्रवाह गर्न थालेको छ । मंगलबारबाट मन्त्रालयका मूलभूत सेवाहरु सिंहदरबार परिसरभित्र रहेको नेपाली सेनाको नरसिंह दल गण भएको ठाउँको खाली जग्गामा बनाइएको प्रिफ्याब भवनबाट सुरु गरिएको हो ।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा रामशाहपथस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट प्रवाह हुँदैं आएका मूलभूत सेवाहरु मिति २०८२/०८/२३ गतेदेखि सिंहदरबारबाट सञ्चालन गरिएको व्यहोरा अनुरोध छ,’ मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा छ ।
केही सेवाहरु भने अहिले रामशाहपथस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाटै भइरहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय आवश्यक स्थानको प्रबन्ध गरी सबै सेवाहरु सिंहदरबारबाट क्रमसः सार्ने योजनामा छ ।
३ मंसिरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सिंहदरबारभित्र मन्त्रालयका लागि बनाइदिएको प्रिफ्याब भवन हस्तान्तरण गरेको थियो । डब्लूएचओले सिंहदरबारभित्र ६ वटा प्रिफ्याब भवन र एउटा ४ कोठाको प्रिफ्याबकै टहरा बनाइदिएको छ । यस्तै, नेपाली सेनाको नरसिंह दल गणका केही पुराना भवनहरु पनि मन्त्रालयको काम गर्ने ठाउँका रुपमा प्रयोग गर्ने तयारी छ ।
रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या र एचईओसी भने तत्काल सिंहदरबारमा सर्ने छैन ।
जेन—जी आन्दोलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
त्यसपछि रामशाहपथस्थित मन्त्रालयको मुख्य भवनको पछाडितिर रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नवनिर्मित भवनबाट मन्त्रालय अस्थायी रुपमा सञ्चालनमा ल्याइएको थियो ।
