काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको उपचार सेवामा सहजता ल्याउन हप्ताको सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध गराउने भएको छ । आइतबार अस्पतालकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानले बिरामीको उपचार सेवामा सहजता र चिकित्सकको आवश्यकतालाई प्रभावकारी रुपमा सम्बोधन गर्न हप्ताको सातै दिन २४ सैं घण्टा प्रयोगशाला परीक्षण उपलब्ध गराइने व्यवस्था मिलाइएको जानकारी दिइन् ।
‘अटोमेटिक/सेमी—अटोमेटिक/किट बेस्ड प्रविधीमार्फत हुने परीक्षणहरु नमुना प्राप्त भएको समयदेखि इमर्जेन्सी तथा ईएचएस सेवाका दुई घण्टाभित्र र ओपीडी तथा आईपीडी सेवाका बिरामीहरुको रिपोर्ट तीन घण्टामा उपलब्ध गराइनेछ,’ डा. प्रधानले भनिन् ।
विपीले यसका लागि इमर्जेन्सी प्रयोगशाला र रुटिङ ल्याबलाई एकीकृत गरी सेन्ट्रल ल्याबमार्फत ५ पुसदेखि सेवा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । यसअघि इमर्जेन्सी ल्याबबाट सिमित प्रकारका परीक्षणहरु मात्र उपलब्ध हुँदैं आएका थिए ।
‘सेवा विस्तार पश्चात सेन्ट्रल ल्याबबाट प्रदान सम्पूर्ण प्रयोगशाला परीक्षण सेवाहरू प्रत्येक दिन २४सै घण्टा उपलब्ध हुनेछन्,’ उनल भनिन् ।
अब रुटिङ ल्याब र इमर्जेन्सी ल्याबमा छुट्टा—छुट्टै नमुना पठाउनुपर्ने दोहोरो झन्झट पनि अन्त्य भएको छ । ‘वार्ड राउण्डको समयमा बिरामीहरुको प्रयोगशाला परीक्षण रिपोर्ट समयमै र सहज रुपमा उपलब्ध हुनेछ,’ डा. प्रधानले भनिन् ।