विराटनगर—कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनियमितता र विवादमा मुछिएकासहित १० जना कार्यालय प्रमुखको सरुवाका लागि गरेको सिफारिस मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्किएको पाइएको छ । मन्त्रालयले १७ मंसिरमा सरुवाको प्रस्तावसहित फाइल पठाएपनि २२ दिन बितिसक्दा समेत सहमति प्राप्त हुन सकेको छैन ।
प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा २६ को उपदफा (१) (ख) र (घ) बमोजिम कर्मचारी सरुवा तथा कार्यालय प्रमुखको जिम्मेवारी तोक्न मुख्यमन्त्री कार्यालयको सहमति अनिवार्य हुन्छ । सोही प्रक्रियाअनुसार मन्त्रालयले मुख्य सचिवसमक्ष सक्कल फाइल पठाएको भएपनि निर्णय रोकिएको हो ।
स्वास्थ्य मन्त्रालयले औषधी खरिदमा अनियमितता गरेको पुष्टि भएका उदयपुर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. गम्भीर झालाई भोजपुर सरुवा गर्ने निर्णय गरेको थियो ।
बिरामीको उपचार र औषधीका लागि आएको बजेटमा औषधी खरिद नगरी फर्जी बिलमार्फत लाखौं रुपैयाँ हिनामिना गरेको छानबिन प्रतिवेदनका आधारमा उनलाई कारबाहीस्वरूप पहाडी जिल्लामा पठाउन लागिएको मन्त्रालयको भनाइ छ ।
यस्तै, झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा पदपूर्ति प्रक्रियामा ‘सेटिङ’ र व्यापक अनियमितता गरेको आरोप लागेका कार्यालय प्रमुख डा. सिद्धार्थकुमार ठाकुरलाई जिम्मेवारीबाट हटाउने निर्णय पनि गरिएको छ । उनको स्थानमा स्वास्थ्य निर्देशनालय धनकुटामा कार्यरत ९ औं तहका कन्सल्ट्यान्ट आयुर्वेदविज्ञ डा. रवीन्द्र निरौलालाई पठाउने तयारी मन्त्रालयको छ ।
डा. ठाकुरमाथि ११ पस २०८१ मा विभिन्न पदका लागि लिइएको परीक्षामा धाँधली गरेको आरोप छ । मन्त्रालयको छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार रेडियोग्राफर पदका परीक्षार्थी रामप्रकाश यादवले लिखित परीक्षामा ३३.२ अंक मात्र ल्याई अनुत्तीर्ण भएको अवस्थामा पनि डा. ठाकुरको योजनामा उनलाई उत्तीर्ण गराइएको पाइएको छ ।
मन्त्रालयको निर्णयअनुसार जिल्ला अस्पताल पाँचथरका मेसु डा. वुद्धिबहादुर थापालाई जिल्ला अस्पताल सुनसरी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरकी डा. नूतन महतोलाई उदयपुर र जिल्ला अस्पताल भोजपुरकी डा. अमृता श्रेष्ठलाई ओखलढुंगा सरुवा गर्ने सिफारिस गरिएको छ ।
यसैगरी, जिल्ला अस्पताल सुनसरीका डा. अमिताभ ठाकुरलाई खोटाङ, स्वास्थ्य कार्यालय सोलुखुम्बुका सुमन तिवारीलाई ताप्लेजुङ, स्वास्थ्य कार्यालय ताप्लेजुङका कुलबहादुर पौडेललाई खोटाङ, स्वास्थ्य कार्यालय खोटाङका जीवनप्रसाद चम्लागाईंलाई सोलुखुम्बु र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका बैजनाथ साहलाई सोलखुम्बु पठाउने निर्णय भएको छ ।
मन्त्रालय स्रोतका अनुसार प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका प्रमुख डा. सिद्धार्थकुमार ठाकुरलाई जोगाउन मुख्यमन्त्री कार्यालयले फाइल अड्काएको आरोप छ । ‘डा. ठाकुर मुख्यमन्त्री कार्यालयका केही पदाधिकारीसँग निकट छन् । उनलाई हटाएर अर्को व्यक्ति पठाउन मुख्यमन्त्री कार्यालय इच्छुक नदेखिएकाले फाइल रोकिएको हो,’ मन्त्रालयका एक कर्मचारीले बताए ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले १० जना कार्यालय प्रमुखको सरुवा सिफारिस गरिएको पुष्टि गर्दै मुख्य सचिव नहुँदा प्रक्रिया ढिलाइ भएको बताए । ‘यसअघि मुख्य सचिव नभएकाले प्रक्रिया केही ढिलो भयो,’ उनले भने ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सचिव एकदेव अधिकारीले मुख्य सचिव आइसकेकाले अब फाइल अघि बढ्ने दाबी गरे । ‘सरुवाको सिफारिस गर्ने मुख्य सचिवले नै हो । उहाँ आएपछि सबै फाइल बुझाइसकेका छौँ, अब निर्णय हुन्छ,’ उनले भने ।
मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रवि खनालले भने कर्मचारी सरुवा नियमित प्रशासनिक प्रक्रिया भएको र यस विषय प्रशासनले नै हेर्ने प्रतिक्रिया दिए ।