काठमाडौं—अत्तरखेलस्थित नेपाल मेडिकल कलेज र जापानको कोबे तोकिवा विश्वविद्यालयबीच चिकित्सा विज्ञान क्षेत्रमा संयुक्त अनुसन्धान तथा शैक्षिक सहकार्य गर्ने उद्देश्यले समझदारी भएको छ । मंगलबार कलेजमा आयोजित एक विशेष कार्यक्रमकाबीच दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी पत्रमा कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी र विश्वविद्यालयका कुलपति तादाशी नाकामुराले हस्ताक्षर गरेका थिए । समझदारीअनुसार दुई वटै संस्थामा कार्यरत फ्याकल्टी तथा पिजी, पिएचडी, डिएम/एमसीएच अध्ययनरत विद्यार्थीहरुले एकेडेमिक इन्टर चेञ्ज रणनीतिअनुसार अध्ययन—अनुसन्धान गर्न सक्नेछन् ।
यो समझदारीले नेपाल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुसँगै फ्याकल्टीहरुलाई पनि फाइदा हुने कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले बताए । नेपाल मेडिकल कलेज निजी क्षेत्रबाट सञ्चालित भएपनि सरकारले लागू गरेका स्वास्थ्य बीमाहरु समेत सञ्चालन गरी गरिब, विपन्न नागरिकलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध रहेको उनले बताए।
नेपालको मेडिकल शिक्षा र चिकित्सकीय अनुसन्धानमा कलेजले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको चर्चा गर्दै अध्यक्ष प्रा.डा. अन्सारीले कोबे तोकिवा विश्वविद्यालयसँगको सहकार्यले दुई देशका विद्यार्थीहरुको शैक्षिक उन्नयन र प्राज्ञिक ज्ञान विस्तारमा टेवा पुग्ने धारणा व्यक्त गरे।
कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले यो सहकार्यले अनुसन्धानसँगै शैक्षिक आदान–प्रदानलाई पनि थप मजबुत बनाउने बताइन् । कलेजले चिकित्सकीय अध्ययन, अनुसन्धानका विषयहरुलाई सदैव प्राथमिकतामा राखेको बताउँदै प्रबन्ध निर्देशक डा. यासमिनले आउँदा दिनहरुमा यस प्रकारका सहकार्यलाई जोड दिएर जाने बताइन्।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा. मोदनाथ मरहट्टाले स्वागत मन्तव्य व्यक्त गर्दै यस सहकार्यले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, कलेजका अनुसन्धान निर्देशक प्रा.डा. शिवकुमार राईले समझदारीपत्रको उद्देश्य र महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरुको सिकाइ र अनुसन्धानलाई सहयोग पुग्ने अपेक्षा गरे ।
कोबे तोकिवा विश्वविद्यालयका ग्लोबल कम्युनिकेशन सेन्टर प्रमुख प्रा.डा. ताकाशी सुजुकीले सहकार्यले दुवै देशका अनुसन्धानकर्ता तथा विद्यार्थीलाई लाभ पुग्ने बताउँदै दीर्घकालीन सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरे। साथै, विश्वविद्यालयका कुलपति नाकामुराले नेपालसँगको सहकार्यलाई संस्थागत रूपमा अगाडि बढाइने उल्लेख गरे।
समझदारीअनुसार दुवै संस्थाका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का नीति तथा मापदण्डअनुसार अस्पताल तथा क्षेत्रीय तहमा संयुक्त अनुसन्धान गर्नेछन् । सन् २००२ मा सुरु भएका दुवै संस्थाबीचको सहकार्यलाई यस समझदारीपत्रमार्फत नवीकरण गरिएको हो । कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, प्राध्यापक तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।