काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए)को आसन्न निर्वाचनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्व उपकुलपति डा. मंगल रावल नेतृत्वको प्यानल घोषणा भएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका डा. रावलले संकल्प पत्रसहित प्यानल घोषणा गरेका हुन् ।
डा. रावलको प्यानलबाट अध्यक्षमा रावल, वरिष्ठ उपाध्यक्षमा युवा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी उम्मेदवार छन् । यसैगरी, शक्तिशाली पद मानिएको महासचिवमा डा. कालुसिंह खत्री उम्मेदवार छन् ।
उपाध्यक्ष (प्रदेश संयोजक)हरुमा कोशी प्रदेशको उपाध्यक्षमा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. टंक बाराकोटी, मधेश प्रदेशको उपाध्यक्षमा डा. उदयनारायण सिंह, बागमतीको उपाध्यक्षमा डा. अरुण शाही, गण्डकीको उपाध्यक्षमा डा. यज्ञ राज सिग्देल, लुम्बिनीको उपाध्यक्षमा डा. सन्तोष पोखरेल, कर्णालीको उपाध्यक्षमा डा. रविन खड्का र सुदूरपश्चिमको उपाध्यक्षमा डा. निरज अर्याल उम्मेदवार रहेका छन् ।
यसैगरी, कोषाध्यक्षमा डा. चाँदनी जयसवाल, सह कोषाध्यक्षमा डा. सुवास गुरुंग र सहसचिवमा डा. राम जीवन प्रसाद उम्मेदवार रहेका छन् ।
डा. रावलको प्यानलले यसअघि व्यवसायिक एनएमए, सहभागितामूलक एनएमए, सेवामूलक एनएमए र पारदर्शी एनएमको एजेण्डा अगाडि सारेको थियो । शनिबार सार्वजनिक गरिएको संकल्प पत्रमा कार्यकालभर कुनै पनि राजनीतिक नियुक्तिमा सहभागी नहुने, तालिम र अध्ययनका लागि संघको जिम्मेवारी नछाड्ने, चिकित्सकीय पेशा र हितमा कुनै हानी नपुर्याउने, चिकित्सक संघका गतिविधीमा राजनीति संलग्नता नरहने, टिमका सदस्य कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने महत्वपूर्ण निर्णयमा ब्यालेटिंग प्रणाली लागु गर्ने र प्रत्येक महिना प्रगति विवरण र तीन महिनामा वित्तिय विवरण सार्वजनिक गर्ने प्रतिद्धता गरिएको छ ।
डा. मंगलको प्यानलले हाम्रो एनएमए, सबैको एनएमए, चिकित्सक ऐन, एनएमएले चिकित्सकलाई दिने सेवा सुविधामा विस्तारलाई पनि संकल्पपत्रमा एजेण्डाका रुपमा अगाडि सारेको छ । यस्तै, अनिवार्य नीतिगत सुधार, एनएमएअन्तर्गत प्रभावकारी रिसर्च एण्ड एडभोकेसी युनिट सञ्चालन गर्ने संकल्पका रुपमा छ ।