काठमाडौं—नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबार दिउँसो दुई बजेबाट नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेलमा चार स्थानमा मतगणना सुरु भएकोमा हालसम्म १०८०० मत गणना भएको छ ।
हेल्थआवाजलाई प्राप्त मंगलबार विहान १०ः३० बजेसम्मको मतगणनाको अपडेटअनुसार उपाध्यक्षमा डा. कुन्जाङ शेर्पाले ६३२ मतको अग्रता बनाएका छन् । उनी ४६६१ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछयाइरहेका डा. गुणशरण साहले ४०२९ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका डा. अजयसिंह थापाले १६६७ मत पाएका छन् ।
यसैगरी, सदस्यहरुमा डा. छवि पन्थी अग्रस्थानमा छन् । उनले ४४४८ मत प्राप्त गरेका छन् ।
यसैगरी, डा. सारिका गोइतले ४१५८ मत, डा. दीपेन्द्र पाण्डेले ३६०५ मत, डा. योबिनकुमार यादवले ३३७२ मत, डा. अस्मिता पोखरेलले ३०३५ मत, डा. सम्राट पराजुलीले ३०२६ मत, डा. रबिन बस्नेतले २७८८ मत, डा. कुम्भराज जोशीले २७५५ मत, डा. निना राई २७५३ मत, डा. घनश्याम पाण्डेले २७३४ मत, सरोजकुमार साहले २५४९ मत र डा. उज्जव ठाकुर २२८३ मत पाएका छन् ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि उपत्यका बाहिर ४ र ५ पुसमा निर्वाचन भएको थियो भने धुलिखेलमा ११ पुसमा, काठमाडौं र ललितपुरमा ११ र १२ पुसमा मतदान भएको थियो । निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको छ । अब ११२० मत गन्न बाँकी छ ।
काउन्सिलको एक उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने ८ जना सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।