२०८२ पुस १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब

सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब

ट्रष्टले जथाभावी गरेको भन्दैं सबै कर्मचारी ५१ दिनदेखि आन्दोलनमा


काठमाडौं–नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाको नेतृत्वमा रहेको सुस्मा कोइराला मेमोरियल ट्रष्टअन्तर्गतको सुस्मा कोइराला मेमोरियल अस्पताल अस्तव्यस्त बन्दै गएको छ । अस्पतालको प्रशासनमा छुट्टै नेतृत्व हुने गरेकोमा पछिल्लो समय ट्रष्टमा नै नयाँ नेतृत्व आएर सोही नेतृत्वले अस्पताल पनि हेर्न थालेपछि २ महिनादेखि चिकित्सक, नर्स र कर्मचारीले तलबसमेत पाएका छैनन् ।

इन्टरप्लाष्ट जर्मनको आर्थिक सहयोगमा नेपाल सरकारको लिजको जग्गामा संचालित सो अस्पतालले नेपाल सरकारबाट पटक—पटक करोडौं अनुदान लिइरहेको छ । साथै, अन्य अन्तर्राष्ट्रिय निकायबाट पनि अनुदान लिएर संचालन हुँदै आएको जलन उपचार गर्ने सो अस्पताल पछिल्लो पटक ५१ दिनदेखि निरन्तर आन्दोलनको सामना गरिरहेको छ ।

ट्रस्टले नियमावली र विनियमावली विपरित अस्पतालमा अनावश्यक हस्तक्षेप गरेको,  अस्पतालजस्तो उपचार सेवा प्रबाह गर्नुपर्ने ठाउँमा गुण्डाहरु ल्याएर चिकित्सक, नर्स, पारामेडिक्स तथा कर्मचारीहरुलाई धम्क्याउने, कुटपिट गर्नेजस्ता काम गरेको भन्दै पछिल्लो ५१ दिनदेखि अस्पताल परिसरमा नियमित आन्दोलन भइरहेको छ । अस्पतालका सम्पूर्ण कर्मचारीले नियुक्ति बदरदेखि अस्पतालमा भएका सम्पूर्ण समस्यासहित अध्यक्षलाई २८ मंसिरमा पत्र पठाएतापनि सुनुवाई नभएको कर्मचारीहरुले गुनासो गरेका छन् ।

त्यसपछि, चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका कर्मचारीले पछिल्ला २ हप्तादेखि भने अस्पताल हातामा नै धर्ना दिइरहेका छन् । यही बीचमा शंकरापुर नगरपालिकाले दुवै पक्षलाई बोलाएर वार्ता पनि गरेको थियो तर व्यवस्थापन पक्षले त्यसलाई वेवास्ता गरेको आन्दोलनरत पक्षले आरोप लगाएका छन् ।

अस्पतालको आर्थिक तथा प्रशासनिक कामहरु ठप्प रहेका छन् भने केही दिनभित्र समस्या समाधान नभए ओपीडी र आईपीडी पनि बन्द हुने अवस्थामा पुग्ने एक कर्मचारीले बताए । ‘प्रशासन लामो समयदेखि ठप्प छ,’ ती कर्मचारीले भने, ‘यही अवस्था भए अबका केही दिनमा अन्तरंग र बहिरंग दुवै सेवा बन्द हुने अवस्थामा पुग्छ ।’

आन्दोलनरत चिकित्सक, नर्स र कर्मचारीका माग

१) ट्रस्टको अध्यक्षको ठाडो आदेशबाट अनाधिकृत रूपमा नियुक्त गरिएका ED सृष्टि कोइराला र CEO दिपेन्द्र सिंह साउदको नियुक्ति तुरुन्त खारेज गर।

२) यिनै व्यक्तिहरूले बाहिरी गुन्डा प्रयोग गरी कर्मचारीमाथि कुटपिट, थर्काउने र धम्की दिएको हुँदा कानुन बमोजिम कडा कारबाही गर।

३) यस्ता व्यक्तिहरूलाई अस्पताल मात्र नभई ट्रस्टको कुनै पनि पदमा बस्न नदिने व्यवस्था गर।

४) आर्थिक पारदर्शिताका लागि स्वास्थ्य मन्त्रालयबाट यस अस्पतालको लागि भनी ट्रस्टको खातामा विगतमा आएका दशौं करोड अनुदानहरूको विवरण सार्वजनिक सहित खर्चहरूको पारदर्शिता प्रस्तुत गर।

५) यस अस्पतालमा नियुक्ति लिएका कर्मचारीहरूले परीक्षणकाल पूरा भएपछि स्वतः स्थायी हुने व्यवस्था गरी लागू गर।

६) वार्षिक तलब वृद्धि सुनिश्चित गर।

७) कर्मचारीहरूले विगतमा पाउँदै आएको औषधि खर्च काटिएको हुनाले पुनः सो वार्षिक पाउने रु. ३५,००० बराबरको औषधि खर्च सुविधा लागू गर।

८) ट्रस्टले नर्सिङ क्याम्पसको नाममा अस्पताल खाताबाट लिएको रु. ९८ लाख तुरुन्त फिर्ता गर।

९) अस्पतालका सम्पूर्ण निर्णय IMC (Internal Management Committee)HMC (Hospital Management Committee) संरचना अनुसार सञ्चालन गर।

१०) IMC र HMC मा कर्मचारी प्रतिनिधि कम्तीमा २-२ जना समावेश गर।

११) नियम विपरीत नियुक्त गरिएका Director for Medical & Academic AffairsDeputy Director को नियुक्ति/पदोन्नति तुरुन्त रद्द गर।

१२) अनियमित नियुक्तिमा भएको यदि कुनै भुक्तानी छ भने फिर्ता गर्न।

१३) ट्रस्टको हुकुमी प्रवृत्ति अन्त्य गर्न तथा आर्थिक अनियमितता अन्त्य गर्न अस्पतालको बैंक खाता IMC-HMC को निर्णयअनुसार अस्पतालका कर्मचारीबाट नै सञ्चालन हुने व्यवस्था गर।

१४) सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुअघि कर्मचारीले पाउनु पर्ने उपदान रकम तुरुन्त भुक्तानी गर्न।

१५) भविष्यमा पनि ट्रस्टबाट हुन सक्ने गुन्डागर्दी रोक्न र प्रशासनिक पारदर्शिता सुनिश्चित गर्न अस्पताल IMC-HMC बाट सञ्चालन हुने गरी नियमावली संशोधन गर।

१६) ट्रस्टतर्फबाट कर्मचारीलाई आएको धम्कीबारे स्वतन्त्र छानबिन गरी कानुनी कारबाही गर।

१७) Interplast Germany Foundation विरुद्ध लगाइएको झूटो आरोप फिर्ता लिएर सार्वजनिक माफी माग।

१८) नातावाद र कृपावादबाट सञ्चालनमा रहेको शुष्मा कोइराला मेमोरियल ट्रस्टलाई पारदर्शी रूपमा सञ्चालन हुने गरी, सम्बन्धित सार्वजनिक निकायहरूको प्रतिनिधित्व हुने गरी ट्रस्टको बोर्ड कमिटीको गठन गर। आफ्नो बुहारीलाई तलब खुवाउन कहिले अध्यक्ष त कहिले ED (Executive Director) बनाउने खेल बन्द गर।

१९) यी मागहरू पूरा नभएसम्म ट्रस्ट वा अस्पताल प्रशासनले अस्पताल वा आन्दोलनलाई असर पर्ने कुनै ठोस निर्णय, कर्मचारीहरूको: नियुक्ति, पदोन्नति, बर्खास्त वा अन्य आदेशहरू जारी नगर। आन्दोलन वा अस्पताललाई प्रभाव पार्ने निर्णय मान्न शुष्मा कोइराला मेमोरियल अस्पताल कर्मचारी संघर्ष समिति बाध्य हुने छैन।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ