काठमाडौं—सरकारले मधेश प्रदेशको सप्तरीमा सुविधासम्पन्न रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने भएको छ । राजविराज नगरपालिका—१० दिघवामा ६१ विगाहा ६ कठ्ठा क्षेत्रफलमा अनुमानित २५ अर्ब लागतमा बन्ने ३०० शैय्याको शिक्षण अस्पतालसहितको उक्त प्रतिष्ठान निर्माण बहुवर्षीय योजनाका रुपमा १५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य प्रारम्भिक रुपमा अगाडि सारिएको छ ।
प्रतिष्ठानमा कलेज अफ पब्लिक हेल्थ, कलेज अफ मेडिकल इमेजिङ टेक्नोलोजी, कलेज अफ फार्मेसी एण्ड फर्माकोलोजी, कलेज अफ मेडिकल ल्याब्रोटोरी र कलेज अफ फिजियोथेरापी एण्ड रिह्याबिलिटिलेसन सञ्चालन हुनेछ । प्रतिष्ठानले एमबीबीएसमा १०० सिट, बिडिएसमा ७५ सिट, एमडी/एमएस/एमडीएसमा ५० सिट र बिएनएसमा ७५ सिटमा अध्यापन गराउने लक्ष्य राखेको छ ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही महिना वन तथा वातावरण मन्त्रालयमा पेश गरेको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनअनुसार प्रतिष्ठानमा ३०० शय्याको शिक्षण अस्पताल बन्नेछ । शिक्षण अस्पतालमा चिकित्सा विज्ञान, दन्त चिकित्सा, नर्सिङ, जनस्वास्थ्य, चिकित्सा प्रविधी, फार्मेसी तथा प्रयोगशाला विज्ञान विभाग रहनेछन् । शिक्षण अस्पतालमा आकस्मिक सेवा, बहिरंग सेवा, सुरक्षित मातृत्व, एक्स—रे सेवा, सिटी स्क्यान, अल्ट्रासोनोग्राफी, प्रयोगशाला, खोप, डट्स क्लिनिक, फिजियोथेरापी, आँखालगायतका सेवाहरु रहनेछन् ।
प्रस्तावित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ७ प्रकारका ७५ वटा भवन बन्नेछन् । शिक्षण कलेज भवन, प्रशासनिक भवन, अस्पताल भवन, आवासीय भवन, व्यवसायिक भवन, सेवा प्रवाह भवन, मनोरञ्जनात्मक भवन हुने प्रतिवेदनमा छ । जसमा प्रमुख रुपमा भुँइतलासहित पाँच तलाको एक प्रशासनिक भवन, भुँइतला र रुफ प्लानसहितको बिडिएस/एमडिएस/एमएस/एमडी भवन, भुइँतला र रुफतलासहित ६ तलाकै बिएनए/एमएन भवन, भुँइ तला र पहिलो तला रहेको क्यान्टिन भवन, भुइँतला र रुफ प्लानसहित पाँच तलाको कलेज भवन, भुँइ तलासहित तीन तले कमर्सियल भवन, दुई तले कम्युनिटी हल, भुइँतलासहित चार तलाको डेन्टल भवन, भुँइ तला र पहिलो तला रहेको डाइनिङ भवन निर्माण हुनेछन् । यसैगरी, बेसमेन्ट र भुँइ तलाबाहेक दुई तले ३०० शय्याको शिक्षण अस्पताल भवन, भुइँ तलासहित तीन तले रिसर्च भवन, भुइँ तला र रुफ प्लानसहितका स्टाफ भवनहरु बन्नेछन् ।
इन्स्टिच्युसनल भवनअन्तर्गत भुँइतला र रुफतलासहितको ६ तलाको एकेडेमीक ब्लक रहनेछ भने हस्पिटल भवनअन्तर्गत ३०० शय्या सुपरस्पेसियालिटी हस्पिटल ब्लक र डेन्टल हस्पिटल रहनेछ । भुइँतलासहित ५ तलाको प्रशासनिक भवनअन्तर्गत प्रशासनिक ब्लक र क्याटिन, मनोरञ्जनात्मक भवनअन्तर्गत इन्डोर ब्लक, फुटबल ग्राउण्ड, स्वीमिङ पुल, ब्याडमिन्टन कोर्ट र बकेट बल कोर्ट रहनेछ । यस्तै, आवासीय भवनअन्तर्गत स्टाफ क्वार्टर, डाइरेक्टर क्वार्टर, भिसी क्वार्टर, रेक्टर क्वार्टर, रजिष्ट्रार क्वार्टर, गेष्ट हाउस र होस्टल ब्लक बन्नेछन् । यस्तै, सर्विस भवनअन्तर्गत सर्विस ब्लक, प्राइमरी सबस्टेशन, सेकेण्डरी सबस्टेशन रहेनछ भने कमर्सियल भवनमा कमर्सियल ब्लक रहनेछ प्रतिवेदनमा छ ।
प्रतिष्ठान सञ्चालनमा आइसकेपछि प्राविधिक र अप्राविधिक गरी १००० जनाले रोजगारी पाउनेछन् । अस्पतालका सुशासन र व्यवस्थापनका लागि २५ जना कर्मचारी रहने आँकलन गरिएको छ । जसमध्ये मेडिकल डाइरेक्टर, मेट्रोन, अस्पताल व्यवस्थापन अधिकृत/प्रशासक र सूचना अधिकृत १/१ जना गरी ४ जना रहनेछन् । यसैगरी, आईटी अधिकृत ५ जना, बायोमेडिकल इन्जिनियर/सहायक ५ जना, मेडिकल रेकर्डर (अधिकृत/सहायक) ६ जना, अस्पताल वित्तिय व्यवस्थापक (लेखा अधिकृत/लेखापाल/स.लेखापाल) ३ जना, स्टोर अधिकृत १ जना र रिसेप्सनिष्ट १ जना रहनेछन् ।
क्लिनिकल सेवाका लागि विशेषज्ञ चिकित्सक ४ जना (विशेषज्ञ विभागअनुसार थप १ प्रति विभाग प्रति १०० शैय्या) सहित ३० जनाभन्दा बढी विशेषज्ञ चिकित्सक, ७२ जना मेडिकल अधिकृत (२४ प्रति सय शैय्या), नर्सिङ सुपरभाइजर ३ जना, नर्सिङ अधिकृत २४ जना (८ प्रति सय शैय्या), नर्सिङ स्टाफ १२० जना (४० प्रति सय शैय्या) पारामेडिकल स्टाफ/हे.अ. ३६ जना (१२ प्रति सय शैय्या), ब. औषधि व्यवस्थापक/फार्मेसी अधिकृत/फार्मेसी सहायक १८ जना (५ प्रति सय शैय्या) एनेस्थेटिक सहायक १२ जना (४ प्रति सय शैय्या), डेन्टल हाइजिनिष्ट, डेन्टल सहायक, ओएम/अप्टोमेष्ट्री, अप्थाल्मिक सहायक २/२ जना गरी ८ जना, मेडिको लिगल र फोरेन्सिक सेवा २ जना, फिजियो ८ जना, डाइटिसन र सिनियर डाइटिसियन १/१ जना रहेन प्रक्षेपण गरिएको छ ।
अस्पताल सहयोग सेवाका लागि २५ जना अन्य कर्मचारी रहेन र त्यसबाहेक सुरक्षा, ह.चा.स., सुरक्षा गार्ड, बगैचे, कार्यलय सहयोगी आवश्यकताअनुसार लिने सकिने उल्लेख छ । प्रतिष्ठान र ३०० शैय्याको अस्पतालका लागि प्रस्ताव गरिएको यो जनशक्ति बिरामीको चाप हेरेर घटबढ हुने सक्ने प्रतिवेदनमा छ ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्जिनियरिङ परामर्शदाताका रुपमा रहेको डिजिकोन इन्जिनियरिङ कन्सल्ट प्रा.लि.का रामउदार यादवले प्रत्येक बहुवर्षीय योजनाका रुपमा अगाडि बढाएमा १५ वर्षभित्र आयोजना सम्पन्न हुने जानकारी दिए । तर, अहिलेसम्म निर्माण कसरी अगाडि बढाउने भन्ने विषय भने निक्र्यौल भइनसकेको उनले बताए ।