काठमाडौं—आगामी फागुन २१ मा हुने संघीय संसदको निर्वाचनका लागि देशभर मनोनयन दर्ता भइरहेको छ । चुनावी भिडन्तमा पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रीहरुको लामै सूची रहेको छ ।
पछिल्लो १० वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नेतृत्व गरेका नेताहरुमध्ये ९ जना नेता चुनावका लागि उम्मेदवारी दर्ता गराउँदैं छन् ।
नेपाली कांग्रेसको तर्फबाट पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री भइसकेका सभापति गगनकुमार थापा सर्लाही ४ बाट उम्मेदवारी दिदैंछन् । यसअघि उनी काठमाडौं ४ बाट निर्वाचित हुँदैं आएका थिए ।
नेपाली कांग्रेसकै महामन्त्री तथा निवर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेल काठमाडौं ५ बाट मनोनयन गर्दैछन् । नेपाली कांग्रेसबाटै पूर्व स्वास्थ्यमन्त्री भएका मोहनबहादुर बस्नेत र राज्यमन्त्री भएका उमेश श्रेष्ठको भने उम्मेदवारी टुंगो लागेको छैन ।
नेकपा एमालेको तर्फबाट स्वास्थ्यमन्त्री भएका भानुभक्त ढकाल यसपटक तेह्रथुमबाट निर्वाचन भिड्दैछन् । यसअघि उनी मोरङ क्षेत्र नं. ३ बाट चुनाब उठेका थिए । अघिल्ला २ चुनावमध्ये पहिलो निर्वाचनमा उनी विजयी भएका थिए भने दोस्रो निर्वाचनमा मेडिकल व्यवसायी सुनिल शर्मासँग हारेका थिए ।
छोटो समयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका नेकपा एमालेका नेता पदम गिरी पर्वतबाट चुनाव लड्दैछन् भने छोटै समय स्वास्थ्य मन्त्रालय समालेका अर्का नेता शेरबहादुर तामाङले सिन्धुपाल्चोक २ बाट मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरी, जनता समाजवादीबाट हालै नेकपा एमाले प्रवेश गरेका पर्साका प्रदीप यादवले पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । उनी करिब ६ महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए ।
एमालेबाट स्वास्थ्यमन्त्री भएका कृष्णगोपाल श्रेष्ठ यस पटक उम्मेदवारको दौडमा छैनन् भने खगराज अधिकारी गण्डकी प्रदेशको नेकपा एमाले संसदीय दलको नेता छन् । पूर्व स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्याल एमालेको समानुपातिक सूचीमा रहेकी छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सप्तरी ३ बाट निर्वाचन लड्दैछन् । यसअघि उनी सप्तरीको २ नम्बर क्षेत्रबाट निर्वाचन लडेर हारेका थिए । उपनिर्वाचनमा बारा ४ बाट निर्वाचित भएका हुन् ।
पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल महोत्तरी क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका छन् । उनी यसअघिको आम निर्वाचनमा एमाले उम्मेदवारसँग पराजित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता तथा पूर्व स्वास्थ्य राज्यमान्त्री डा. तोसिमा कार्की ललितपुर ३ बाट निर्वाचन भिड्दैछिन् । अघिल्लो पटक पनि उनी त्यही क्षेत्रबाट विजयी भएकी हुन् ।