२०८२ माघ ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण हुन सकेन’

‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण हुन सकेन’

‘व्यक्तिगत पदका लागि होइन, स्वास्थ्य प्रणाली र चिकित्सकको अधिकारका लागि मेरो लडाइँ हो’


कोशी प्रदेशका सरकारी अस्पतालहरूमा कार्यरत चिकित्सकहरू यतिबेला संघका चिकित्सकलाई प्राथमिकता दिएर प्रदेशलाई उपेक्षा गरेको गुनासो गर्दै आएका छन् । प्रदेश सरकार मातहतका अस्पतालहरूमा आफ्नै दक्ष जनशक्ति हुँदाहुँदै पनि अस्पतालको नेतृत्वमा संघीय सरकारका चिकित्सकहरूलाई प्राथमिकता दिइएको र प्रादेशिक चिकित्सकहरूको वृत्ति विकासमा अवरोध पुर्‍याएको उनीहरूको आरोप छ । यसै सन्दर्भमा कोशी प्रादेशिक चिकित्सक संघ (तदर्थ समिति)का संयोजक एवं धनकुटा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईसँग हेल्थआवाजका लागि अनिल श्रेष्ठले गरेको संक्षिप्त कुराकानी :

कोशी प्रादेशिक चिकित्सक संघ किन स्थापना गर्नुपर्‍यो ? यसका मुख्य मागहरू के–के हुन् ?

हामीले प्रदेश सरकार मातहत रहेर काम गरिरहँदा हाम्रा हक–अधिकार र वृत्ति विकासका मुद्दाहरू ओझेलमा परे । संघीयतापछि स्वास्थ्य सेवा पनि प्रदेशको क्षेत्राधिकारमा आयो । तर, कार्यन्वयनमा अझै पनि संघकै ‘डोमिनेसन’ देखियो । हाम्रो मुख्य माग भनेको प्रदेशका अस्पतालहरूको नेतृत्व प्रदेशकै चिकित्सकले पाउनुपर्छ भन्ने हो । साथै, प्रदेश स्वास्थ्य ऐन अविलम्ब ल्याइनुपर्ने, अध्ययन बिदा र बढुवाको सुनिश्चितता हुनुपर्ने र दुर्गममा काम गर्ने विशेषज्ञ चिकित्सकहरूको रोकिएको प्रोत्साहन भत्ताको निकास हुनुपर्ने हाम्रा मागहरू हुन् ।

तपाईंहरूले संघका चिकित्सकहरूलाई ‘काज फिर्ता’ गर्नुपर्छ भन्नुभएको छ, यसको कारण के हो ?

सुरुवाती चरणमा प्रदेशमा जनशक्ति कम हुँदा संघबाट चिकित्सकहरू आउनु स्वाभाविक थियो । तर, अहिले कोशी प्रदेशसँग १० औं र ९ औं तहका आफ्नै योग्य र लोकसेवा पास गरेर आएका विशेषज्ञ चिकित्सकहरू हुनुहुन्छ । १५ वटा अस्पतालमध्ये ९ वटामा अझै पनि संघकै चिकित्सकले मेसुको कुर्सी ओगट्नुभएको छ । प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण हुन सकेन । त्यसैले उहाँहरूलाई स–सम्मान संघमै फिर्ता पठाई प्रदेशकै चिकित्सकलाई जिम्मेवारी दिनुपर्छ भन्ने हाम्रो अडान हो ।

के प्रदेशका चिकित्सकहरू अस्पताल चलाउन र नेतृत्व लिन सक्षम छन् त ?

हामी पूर्ण रूपमा सक्षम छौँ । हामी लोकसेवाको प्रक्रियाबाट आएका हौं । प्रदेशमा अहिले १० औं तहका २ जना र ९ औं तहका १० जना विशेषज्ञ चिकित्सक हुनुहुन्छ । ८ औं तहमा पनि ठूलो संख्या छ । मैले आफै पनि स्थायी भएको डेढ वर्षदेखि अस्पतालको नेतृत्व गरिरहेको छु । त्यसैले हामी सक्षम रहेका छौं र प्रदेशका चिकित्सकहरुलाई नेतृत्व दिनु पर्दछ । हामीले हाम्रो कार्यक्षमता प्रमाणित गरिसकेका छौं । राज्यले हामीलाई अवसर नदिने अनि ‘सक्षम छैनन’ भन्नु न्यायसंगत हुँदैन ।

पुस ७ गते स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा. यदुचन्द्र घिमिरेलाई डा. सन्तोष राई नेतृत्वको चिकित्सकको टोलीले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउँदै ।

मुख्यमन्त्री र प्रदेश स्वास्थ्यमन्त्रीसँगको भेटघाट कस्तो रह्यो ? के आश्वासन पाउनुभएको छ ?

हामीले मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री र सचिवज्यूलाई भेटेर ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छौं । उहाँहरू हाम्रा मागप्रति सकारात्मक हुनुहुन्छ । विशेषगरी नयाँ स्वास्थ्य मन्त्रीज्यूलाई हामीले सबै वस्तुस्थिति अवगत गराएका छौं । बजेटको अभाव देखाएर रोकिएको विशेषज्ञ प्रोत्साहन भत्ता र कार्यविधि संशोधनका विषयमा मन्त्रालयले पहल गर्ने आश्वासन दिएको छ ।

यदि मागहरू पूरा भएनन् भने तपाईंहरूको आगामी कदम के हुन्छ ?

हामीले स्पष्ट भनिसकेका छौं– यो हाम्रो अस्तित्वको लडाइँ हो । यदि प्रदेश सरकारले आफ्नै जनशक्तिलाई विश्वास नगर्ने र अधिकार नदिने हो भने हामी सामूहिक राजीनामा दिन बाध्य हुनेछौं । अस्पतालको सेवा नै ठप्प पार्ने सम्मका अप्रिय निर्णयहरू लिन हामीलाई बाध्य नपारियोस् भन्ने हाम्रो आग्रह छ ।

अन्त्यमा, खोटाङको विकट गाउँदेखि चिकित्सकसम्मको तपाईंको यात्रा र अहिलेको संघर्षलाई कसरी हेर्नुहुन्छ ?

खोटाङको चिसापानीको सरकारी स्कुलबाट पढेर, अनेक दुःख झेल्दै पटनामा एमबीबीएस तयारी गरियो र पछि चितवनबाट गरियो भनेपछि विशेषज्ञता हासिल धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानबाट गरियो । एउटा कृषक परिवारको छोरो आज यो स्थानमा आइपुग्दा आफ्नो माटोको सेवा गर्ने ठूलो इच्छा छ । तर, जब प्रणालीले नै विभेद गर्छ, तब बोल्नैपर्ने हुन्छ । म व्यक्तिगत पदका लागि होइन, समग्र प्रदेशको स्वास्थ्य प्रणाली सुधार र चिकित्सकहरूको अधिकारका लागि लडिरहेको छु ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ