२०८२ माघ ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बीमालाई औषधी महंगोमा बेचिएको छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य बीमालाई औषधी महंगोमा बेचिएको छ : स्वास्थ्यमन्त्री


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा बोर्डलाई औषधीमा महंगोमा बेच्ने गरिएको बताएकी छन् । आइतबार मन्त्रालयमा तीन महिना प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री डा. गौतमले अस्पतालहरुले सस्तो औषधी किनेर स्वास्थ्य बीमामा महंगो क्लेम गर्ने गरेको बताएकी हुन् ।

उनले त्यही औषधी अस्पतालको फार्मेसीबाट किन्दा सस्तोमा दिने र बीमामा महंगो क्लेम पेस गर्ने गरेको बताइन् ।

नेपाल सरकारले बीमालाई ठूलो रकम दिएतापनि आर्थिक भार थेग्न नसक्ने अवस्थामा पुगेको भन्दैं डा. गौतमले चालु आर्थिक वर्षमा बीमाका लागि बिनियोजन गरिसकेको बजेट सकिइसकेकाले थप स्रोत खोज्न समस्या भएको बताइन् ।

‘बजेट सुनिश्चित नभई खर्च गर्ने परिपाटी बसेको रहेछ,’ उनले भनिन, ‘पहिले बजेट सुनिश्चित गरेर त्यहीअनुसारको कार्यक्रम बनाउनुपर्नेमा पहिले खर्च गरेर पछि बजेट खोज्ने गरेको रहेछौंं ।’ उनले सेवा खरिद गर्न बजेट नभएरै पनि असिमित दायित्व काँधमा बोकेर सेवा किनिरहेको बताइन् ।

भर्खरै राजीनामा दिएका स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले सैद्धान्तिक कुरा मात्रै गर्ने व्यवहारिक नहेरेका कारण स्वास्थ्य बीमा कार्यक्रम नै अप्ठ्यारोमा परेको बताइन् ।

‘उहाँले बीमाका तीन विकल्प भनेर ल्याउनुभयो । जुन व्यवहारिक थिएनन्,’ उनले भनिन्, ‘पहिलो सबै सरकारले व्यहोर्नुपर्ने, दोस्रो प्रिमियर बढाउनुपर्ने र तेस्रो दुई वटै गर्न नसके बीमालाई बन्द गर्नुपर्ने विकल्प ल्याउनुभयो ।’ मन्त्री डा. गौतमले बीमामा भएका विभिन्न चुहावट रोक्ने र दीर्घकालीन कार्यक्रम ल्याउनुपर्नेमा अहिलेसम्म त्यसतर्फ कसैले प्रयास नगरेका कारण बीमा यो अवस्थामा पुगेको बताइन् ।

स्वास्थ्य बीमा ऐनमा भएको संगठित क्षेत्र र वैदेशिक रोजगारमा गएका परिवारलाई अनिवार्य समेट्नुपर्ने भएतापनि राजनीतिक दाउपेचका कारण त्यो कुरा लागु हुन नसकेको उनको भनाइ थियो ।

यस्तै, मन्त्री डा. गौतमले अस्पतालहरुले बिरामीलाई अनावश्यक परीक्षण गराउने गरेको, सरकारीभन्दा निजीमा दोब्बर बढीमा सेवा खरिद गर्ने नीति भएकोलगायतका कारण स्वास्थ्य बीमा जोखिममा पुगेको भनाइ थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ