काठमाडौं—नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च हिमाली क्षेत्रमा आउने पर्यटकहरुको रेस्क्यु र उपचारका नाममा ठूलो ठगी हुने गरेको खुलासा गरेको छ । आइतबार साढे दुई महिना लामो अनुसन्धानपछि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै सिआईबीले फेक रेस्क्यु गरेर ठगी गरेको आरोपमा तीन वटा रेस्क्यु कम्पनीका छ जना पक्राउ परेको जनाएको छ ।
पक्राउ पर्नेमा माउण्ट रेस्क्यु प्रा.लि. सञ्चालक जयराम रिमाल र कर्मचारी विवेक पाण्डे, नेपाल चार्टर सर्विस प्रा.लि. का सञ्चालक रविन्द्र अधिकारी र कर्मचारी विवेकराज थपलिया र एभरेष्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्ट प्रा.लि.का सञ्चालक मुक्ति पाण्डे र कर्मचारी सुभाष केसी रहेको सिआईबीले जनाएको छ । उनीहरुमाथि मुलुकी अपराधसहिताअन्तर्गत राष्ट्रहित विपरित अपराधको कसुर, ठगी, लिखत, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान जारी छ ।
‘एक्युट माउण्ट सिकनेस’ भएका पर्यटकलाई बढाइ—चढाइ गरेर फेक रेस्क्यु गर्ने, एक्युट माउण्ट सिकनेस भएका बिरामीलाई उपचार गर्ने सामान्य विधी ३०० देखि ५०० मिटर तल झार्दा ठीक हुने भएपनि त्यो नगरी अनावश्यक रेस्क्यु गर्ने, नियमित फ्लाइटमा आएपछि पनि रेस्क्युको फेक बिल बनाएर इन्स्युरेन्स क्लेम गरेको, एउटै फ्लाइटमा ल्याइएकालाई छुट्टा—छुट्टै इनभाइस बनाएर कागजपत्र पेश परेको, काठमाडौं—लुक्ला—लुक्ला—काठमाडौं २ हजारदेखि २५ सय युएसडीको रेस्क्यु फ्लाइट हुने गरेकोमा ३१ हजार युएसडीसम्म लिएकोलगायतबाट ठूलो ठगी गरेका कारण प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
सिआईबीकाअनुसार २ हजार बढी रेस्क्यु भएकामा तीन सय हाराहारीमा शंकास्पद ठगीका कारोबार भेटिएका छन्, ती केसमाथि छानविन जारी रहेको छ । ‘हामीले साढे दुई महिनादेखि युनिट नै बनाएर यसमा अनुसन्धान गरिरहेका छौं,’ सिआईबीका प्रमुख तथा एआईजी मनोज केसीले भने, ‘एक हजारभन्दा स्वीफ्ट कोडहरुको एनलाइसिस गरेका छौं । करोडौंको शंकास्पद कारोबार भएको देखिएको छ ।’
डा. केसीले माउण्ट रेस्क्यु सर्विसले गरेका १२४८ रेस्क्युमध्ये १७१ शंकास्पद रेस्क्यु गरेको छ, जसबाट उसले १० करोडभन्दा बढी अमेरिकी डलर बीमा दावी गरेको छ । नेपाल चार्टर सर्विस प्रा.लि. ४७१ रेस्क्यु गर्दा ७५ वटा शकास्पद रेस्क्यु गरेको छ र त्यसबाट ८२ हजार डलरभन्दा बढीको इन्स्युरेन्स क्लेम गरेको छ । यस्तै, एभरेष्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्ट प्रा.लि.ले ६०१ रेस्क्युमध्ये ७१ वटा फेक रेस्क्यु हुन सक्ने देखिएको छ । उसले ११ लाख ५३ हजार अमेरिकी डलर इन्स्युरेन्सबाट माग दावी गरेको छ ।
प्रहरीले रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र हस्पिटलले संयुक्त बीमा दावी गर्ने गरेको जनाएको छ । हेली लिफ्ट गरेकाहरुको प्रत्येकको उपचार खर्च ११ हजार ८ सय ९० खर्च हुने गरेको र रेस्क्यु कम्पनीहरुले रेस्क्यु गरेका पर्यटकहरुलाई एउटै अस्पतालमा लैजाने गरेको दावी पनि प्रहरीको छ । सिआईबीले हेलिकप्टर कम्पनी, रेस्क्यु कम्पनी र अस्पतालहरुको सम्बन्धका विषयमा समेत अनुसन्धान भइरहेको जनाएको छ । ‘कतिपय रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालमा समेत एउटै लगानीकर्ता देखिन्छन्,’ सिआईबीका एक अधिकारीले भने, ‘त्यसमाथि हामीले विस्तृतमा अनुसन्धान गर्दैछौं ।’
सिआईबीका प्रमुख डा. केसीले फेक रेस्क्युले मुलुकको छविमा अन्तर्राष्ट्रिय रुपमा गम्भीर धक्का पुगेको बताए । ‘फेक रेस्क्युमा आर्थिक रुपमा फाइदा लिने भन्ने चिजमा सिमित नभएर नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र छविमा असर परेको थियो । यसले नेपाल आउने पर्यटकको इन्स्युरेन्स शुल्कमा पनि भारी वृद्धि भएको पाइएको छ,’ उनले भने, ‘जसले वास्तविक जोखिममा रहेका पर्यटकहरुको ज्यान जोखिममा पर्ने अवस्था थियो भने देशकै अर्थतन्त्रमा धक्का लाग्ने अवस्था बनेको थियो ।’ पर्यटन उधोगमा पनि यसले गम्भीर नकारात्मक परिणामहरु ल्याउने अवस्था रहेको भन्दै सचेत गराए ।
डा. केसीले नेपाली मिडियामा कम चर्चा भएपछि फेक रेस्क्युका विषयमा अन्तर्राष्ट्रिय मिडियामा पटक—पटक रिपोर्टहरु प्रकाशित भएर राष्ट्रिय छवि नै धुमिल हुने अवस्था सिर्जना भएको समेत उल्लेख गरे । उनले ट्राभल असिसले ०७४ ले यो विषयलाई अन्तर्राष्ट्रिय रुपमा उठाएर सामान्य अवस्थामा हेलिकप्टर रेस्क्यु गरेको, मल्टीपल रेक्स्यु गरिएको, कमिसन लिएकोलगायतका रिपोर्टहरु प्रकाशित गरको बताए । त्यसबाहेक फ्रान्स२४, एपीएफ, सीएनएनले फेक रेस्क्युबारे बारम्बार रिपोर्ट प्रकाशित गरेको उनको भनाइ थियो ।