काठमाडौं—स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक तथा व्यवसायी जयराम रिमाल पक्राउ परेका छन् । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पर्यटकहरुको फेक रेस्क्यु प्रकरणमा रिमाललाई पक्राउ गरेको हो ।
व्यवसायी रिमालको कम्पनी माउण्ट रेस्क्यु सर्विस प्रा.लि.ले गरेका १२४८ रेस्क्युमध्ये १७१ शंकास्पद रेस्क्यु गरेको छ, जसबाट उसले १० करोडभन्दा बढी अमेरिकी डलर बीमा दावी गरेको छ ।
सिआईबीकाअनुसार रिमाल रेस्क्युदेखि हेलिकप्टर हुँदैं पर्यटकहरुलाई उपचार सेवा दिने ट्राभल मेडिसिन सम्बन्धी अस्पताल स्वाकन अस्पतालका संस्थापक निर्देशक समेत हुन् । सेतो पुलमा रहेको उक्त अस्पतालका रिमाल प्रमुख लगानीकर्तामध्ये एक हुन् ।
‘उहाँहरुको आफ्नै रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनीदेखि अस्पतालसम्म रहेछ,’ सिआईबीका एक अधिकारीले भने, ‘तीन वटै ठाउँबाट पर्यटकहरुको रेस्क्युका नाममा ठगी हुने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’
रिमालसँगै उनको कम्पनी माउण्ट रेस्क्यु सर्विस प्रा.लि.का म्यानेजर विवेक पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । चितवनका रिमाल यसबाहेक फ्लाइट कनेक्सन डोमेष्टीकलगायतका कम्पनीहरुका पनि मालिक छन् ।