२०८२ फागुन २८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यपाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण

पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण


महिलाको पाठेघरको मुखमा हुने क्यान्सरलाई सर्भाइकल क्यान्सर भनिन्छ । नेपाली महिलाहरूमा हुने क्यान्सरमध्ये दोस्रो स्थानमा पर्ने यो रोग जनचेतनाको कमीले पनि बढेको छ । समय–समयमा पाठेघरको जाँच गराउनुपर्छ भन्ने जानकारी नहुँदा महिलामा पाठेघरको क्यान्सर बढेको अवस्था छ । नेपालमा पाठेघरको मुखको क्यान्सरबाट सरदरमा दैनिक चार जना महिलाको ज्यान गइरहेको छ ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा (एचपीभी) भाइरस हो । जुन असुरक्षित यौन सम्पर्कबाट सर्छ । श्रीमान वा महिलाको यौन पार्टनर धेरै छन् भने यो भाइरस महिलामा सर्छ र क्यान्सर हुन सक्छ ।

पाठेघरको क्यान्सर भएमा महिनावारी भएको १५ दिनपछि पनि योनीबाट रगत आउने, गन्हाउने पानी तथा रगत बग्ने, यौन सम्पर्कको समयमा रगत देखिनेजस्ता लक्षण देखिन्छन् ।

सूर्तिजन्य पदार्थ तथा धुम्रपानको प्रयोग, धेरै सन्तान जन्माउने, धेरै यौन साथी र अस्वस्थकर खानपानले महिलाहरुमा यो क्यान्सर हुन सक्छ ।
क्यान्सरबारे १० वर्षअघि नै पत्ता लगाउन सकिन्छ

पाठेघरको मुखको क्यान्सर हुनुअघि नै यो रोग लाग्न सक्ने सम्भावनाबारे थाहा पाउन सकिन्छ र क्यान्सर लाग्नै नदिन रोक्न सकिन्छ । अर्थात् १० वर्षपछि लाग्ने क्यान्सर १० वर्षअघि नै पत्ता लगाउन मिल्छ ।

एचपीभी भाइरसका १६ र १८ उच्च जोखिमयुक्त प्रकारले पाठेघरको मुखको क्यान्सर गराउँछ । एचपीभी भाइरसले क्यान्सर गराउँछ कि गराउँदैन भनेर पाठेघरको मुखमा औषधी राखेर सानो मात्रामा कोष निकालेर हेरिन्छ ।

सो परीक्षणबाट अहिले नै क्यान्सर लागेको छ वा छैन र १० वर्षपछि क्यान्सर हुन सक्छ वा सक्दैन भनेर पत्ता लाग्छ । यो परीक्षणले क्यान्सर हुनुअघि देखिने असामान्य परिवर्तन चाँडै पत्ता लाग्छ र क्यान्सर हुने सम्भावना देखिएमा बिरामीले नियमित उपचार तथा जाँच गराइरहेमा क्यान्सर लाग्नै नदिन सकिन्छ ।

सामान्यतयाः महिलाहरू जाँच नै गराउँदैनन् र एड्भान्स स्टेजमा र अन्य अंगमा फैलिसकेको अवस्थामा मात्र अस्पताल आउने गरेको पाइन्छ । अस्पताल आउँदासम्म पाठेघरको मुखको क्यान्सर पिसाब थैली, दिसा नली र फोक्सोमा समेत फैलिसकेको हुन्छ ।

कहिले जाँच गर्ने ?

महिलाहरुले विवाहपछि वा यौन सम्बन्ध सुरु भएपछि र बच्चा जन्माइसकेपछि पाठेघरको मुखको जाँच गराउनुपर्छ । यसमा लिक्विड बेस साइटोलोजी र ह्युमन प्यापिलोमा भाइरसको जाँच गर्नका लागि लागि पाठेघरको पानीको जाँच गरिन्छ । यसले क्यान्सर हुन लागेको छ वा छैन भन्ने पहिचान हुन्छ ।

यो जाँच हरेक तीन वर्षमा एक पटक गराउनुपर्छ । यो सरल जाँच हो । यो परीक्षण गराउँदा अस्पतालमा भर्ना हुनु पर्दैन । महिनावारी भएको ७ दिनमा यो जाँच गराउनुपर्छ । कुनै प्रकारको एन्टिबायोटिक खाएको हुनु हुँदैन ।

पाठेघरको क्यान्सरबाट जोगाउन किशोर—किशोरीलाई एचपीभी खोप

अहिले ह्युमन प्यापिलोमा भाइरसका कारण लाग्ने क्यान्सर रोकथामका लागि खोपको विकास भइसकेको छ । नेपालमा पनि यो खोप राष्ट्रिय खोप कार्यक्रममा समेत राखिएको छ ।

९ देखि १३ वर्षका बालबालिकालाई यो खोप निकै प्रभावकारी हुन्छ । १४ देखि २५ वर्ष उमेर समूहलाई पनि यो खोप दिइन्छ । यो खोप किशोर—किशोरी दुवैका लागि हो । एचपीभीको संक्रमण नभएको, यौन सम्पर्कको सुरु नै नगरेकाहरूका लागि यो खोप लगाइन्छ । नर्भिकमा पनि यो खोप नियमित लगाइने गरिएको छ ।

(डा. श्रेष्ठ नर्भिक अस्पतालमा कन्सल्ट्यान्ट गाइनेअंकोलोजिष्टको रुपमा कार्यरत हुनुहुन्छ ।)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ