काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीले ऋणपान गरेरै भएपनि स्वास्थ्य बीमामा देखिएका समस्या सुधार गर्ने बताएकी छन् । बुधबार सिंहदरबारमा स्वास्थ्य बीमामा देखिएका समस्याबारे सरोकारवालाहरुसँग छलफलमा प्रधानमन्त्रीले ऋणपान वा अन्य कुनै उपाय गरेर भएपनि समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।
‘अर्थमन्त्री टुरमा हुनुहुन्छ, उहाँ आएपछि बसेर छलफल गरेर ऋणपान गरेर हुन्छ कि खोजेर हुन्छ कि मान्छेले अनिकाल भयो भने के हुन्छ, छोराछोरीको माखामुन्द्रा तानतुन पारेर भएपनि झिटिझाम्टा बेचेर भएपनि कासका थाल छन् भने बरु सिल्भरमा खाएर भएपनि त्यसका लागि केही उपाय त गर्नुपर्छ नगरी त हुँदैन्,’ प्रधानमन्त्रीले भनिन् ।
उनले स्वास्थ्य तथा जनसंख्यामन्त्रीले सुरुमै स्वास्थ्य बीमामा ठूलो समस्या रहेको जानकारी आफूलाई दिएको बताइन् । ‘उहाँले सुधार्न खोज्नुभएको हो । नियम कानुन बनाउन खोजेको तर सकिएन्,’ प्रधानमन्त्री कार्कीले थपिन्, ‘अपर हाउसको बैठक हामीले यसैका लागि सार्यौं । स्वास्थ्य बीमाको कुरा धेरै पटक उठाउनुभएको हो ।’
प्रधानमन्त्रीले जनताले ३५ सय रुपैयाँ तिरेको र अर्कोतिर सरकारले १ लाख रुपैयाँसम्मको उपचार गर्ने बचन दिएको उल्लेख गरिन् । ‘अहिले बीमाको रकम नपाएर अस्पतालले बन्द पनि गर्या छ, जिम्मा त हामी जस्तैको टाउकोमा आउने न हो, क्याबिनेटले गर्न सकेन भन्ने हुन्छ,’ उनले भनिन्, ‘जनताले पनि के सोच्छ भने ३५ सय रुपैयाँ त मैले तिरेको थिए तर मेरो उपचार किन भएन भन्ने विषय आउँछ । समस्या आउने नै भयो, यसका धेरै कमीकमजोरी थिए ।’
उनले स्वास्थ्य बीमा सेवालाई कानुनअनुसार एकद्धार प्रणाली लैजानुपर्ने बताइन् । ‘अब सेवा दिएन भने जनताले प्रश्न उठाउँछन्, उनीहरुले ३५ सय रुपैयाँ तिरेका छन्,’ प्रधानमन्त्रीले भनिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले स्वास्थ्य बीमाको समस्या समाधान लागि १५ अर्ब रुपैयाँ तत्काल निकासा गर्न माग गरिन् । ‘शुन्य बजेटमा २४ अर्ब दायित्वको स्वास्थ्य बीमा कसरी सञ्चालन हुन्छ,’ स्वास्थ्यमन्त्रीको प्रश्न थियो, ‘कि स्पष्ट रुपमा स्वास्थ्य बीमा बन्द गर्न निर्देशन हुनुपर्यो कि आवश्यक रकम दिनुपर्यो ।’
गत आर्थिक वर्षको बजेट वक्तव्यमा जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, अति विपन्न र अल्पसंख्य समुदायको बीमा सुविधालाई निरन्तरता दिने भनिएको बताउँदैं डा. शर्माले त्यो सरकारले बोलेको बताइन् । उनले स्वास्थ्य बीमा सरकारको नीति भएको बताइन् ।
‘सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बिनियोजन गरेको छु साथै हालसम्म बाँकी रहेको भुक्तानी दावी रकम तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षमा फरफारक गर्ने व्यवस्था मिलाएको छु भनेर बजेटमै भनेको छ,’ स्वास्थ्यमन्त्रीले भनिन्, ‘म त थिइन त्यहाँ स्वास्थ्य मन्त्रालयका साथीहरु धेरै खुसी भएछन् । १० अर्ब यो आर्थिक वर्षले दिएको छ, गत वर्षको फरफारक गर्न साथै रकम दिन्छु भनेको छ रकम त तोकेन । किनभने फरफारक गर्न दावी प्रमाणिकरण गर्नै बाँकी थियो ।’
उनले दावी प्रमाणिकरण गरेपछि दिन्छु भनेको बुझेर सबै जना खुसी भएपनि रकम भने नपाएको बताइन् । ‘यो आर्थिक वर्षका लागि बिनियोजित १० अर्बबाट पुरानो ऋण तिरियो । त्यसमा थप एक अर्ब दिनुभयो । ११ अर्ब पुरानो ऋण तिर्नमा सकियो,’ मन्त्री शर्माले भनिन्, ‘यो वर्षका लागि शुन्य बजेटमा २४ अर्ब दायित्व पर्ने स्वास्थ्य बीमा कसरी सञ्चालन हुन्छ ? कि यहाँहरुले भनिदिनुपर्यो बीमा बन्द गर कि यहाँहरुले रकम जुटाइदिनुपर्यो ।’
९ कात्तिकमा आफू मन्त्री भएर आएदेखि आफ्नो प्राथमितामा बीमा सुधार, आपूर्ति सुधार र खरिद सुधार रहेको उनले बताइन् । ‘बीमा सुधार मेरो प्राथमितामा रहेको विषय छ, म लगायत मेरो टिम दिनरात यो सुधारमा काम गरिराखेको छ,’ उनले भनिन्, ‘बीमा बोर्डमा रहेका पदाधिकारीहरुले अपरिपक्वका काम पनि गरेकै हुन्, स्रोतको सुनिश्चितता नभईकन असिमित दायित्व सिर्जना गराएकै हुन्, जुन गर्नुहुन्थेन ।’