पिट्सवर्ग— युनिभर्सिटी अफ पिट्सवर्ग मेडिकल सेन्टर (युपीएमसी) कार्यरत नेपाली चिकित्सक डा. शरद ओली ‘रेस्प्याक्ट एण्ड डिगनिटी च्याम्पियन एवार्ड’बाट सम्मानित भएका छन् । २२ जनवरीमा युनिभर्सिटीको सबैभन्दा प्रतिष्ठित एवार्डबाट डा. ओली सम्मानित भएका हुन् ।
युनिभर्सिटी अफ पिट्सवर्ग मेडिकल सेन्टर अमेरिकाकै सबैभन्दा ठूलोमध्ये एक हो । जसका ४० भन्दा बढी अस्पतालहरुमा करिब एक हजार बढी कर्मचारी कार्यरत छन् । यो एवार्ड पाउने डा. ओली पहिलो नेपाली र एकमात्र एसियाली हुन् ।
यो प्रतिष्ठित सम्मानले डा. ओलीको असाधारण व्यक्तित्व र उत्कृष्टतालाई प्रमाणित गरेको छ । विश्वप्रसिद्ध एक्रिस्योर स्टेडियममा भएको पुरस्कार समारोहमा डा. ओलीको नाम स्क्रीनमा देखाइएको थियो भने उनले रेड कार्पेटमा हिडेर पुरस्कार ग्रहण गरेका थिए ।

‘यो पुरस्कारले ती व्यक्तिहरुलाई सम्मान गर्दछ,’ डा. ओलीले भने, ‘जसले बिरामीको हेरचाह र व्यवसायिक सहकार्यमा सम्मान, मर्यादा, समावेसिता र सम्बन्ध निर्माणको संस्कृति प्रवर्द्धनमा असाधारण प्रतिबद्धता देखाउँछन् ।’
डा. ओली हाल पेनसिल्भेनियाको युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरमा पल्मोनरी तथा क्रिटिकल केयर स्पेसियालिस्टका रूपमा कार्यरत छन्। यो प्रतिष्ठित अमेरिकी अस्पतालमा उनले जटिल श्वासप्रश्वास तथा गम्भीर अवस्थाका बिरामीहरूलाई विशेषज्ञ उपचार प्रदान गर्दै आइरहेका छन्। उनका वैज्ञानिक कार्यहरू धेरैजसो प्रतिष्ठित अन्तर्राष्ट्रिय मेडिकल जर्नलहरूमा प्रकाशित भएका छन्।