काठमाडौं—नेकपा एमालेले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणापत्रमा ‘स्वस्थ खाना, योग व्यायाम, निरोगी नेपालको महाअभियान’ शीर्षकमा स्वास्थ्यलाई समेटिएको छ ।
एमालेले घोषणा पत्रमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क, सबै तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गर्ने उल्लेख छ ।
यस्तै, एमालेले स्वास्थ्य बीमा देखिएको वित्तीय तथा व्यवस्थापकीय समस्या हल गरी नागरिकलाई सहज स्वास्थ्य सेवा सुनिश्चित गर्ने समेत जनाएको छ ।
स्वास्थ्य स्वयंसेविकालाई वार्षिक २० हजार उपलब्ध गराउने
एमालेले वार्षिक रुपमा स्वास्थ्य स्वयंसेविकालाई दिइदैं आएको प्रोत्साहन भत्ता बढाएर २० हजार रुपैयाँ पु¥याउने र उनीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने उल्लेख गरेको छ ।
यस्तै, उसले सबै विद्यालयका किशोरीहरुका लागि निःशुल्क प्याड सहज रुपमा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरेको छ ।
