काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाचापत्र सार्वजनिक गर्दै स्वास्थ्य बीमालाई सुदृढ गर्नेदेखि नसर्ने रोगमा रोकथाममुखी रणनीति तय गर्नेसम्मका योजना अगाडि सारेको छ । बिहीबार सार्वजनिक गरिएको बाचापत्रमा रास्वपाले उक्त योजनाहरु अगाडि सारेको हो ।
रास्वपाले देशभर आधारभूत स्वास्थ्य क्षेत्रमा न्यूनतम मापदण्ड कायम गरी सेवा प्रवाह गर्न आवश्यक मानव संशाधन, पर्याप्त औषधी आपूर्ति, अत्यावश्यक उपकरण र सहज पहुँच तथा आधारभूत पूर्वाधारको सुनिश्चितासहितको एकीकृत मोडेल तयार गरी लागु गर्ने बाचापत्रमा उल्लेख गरेको छ ।
यस्तै, भौगोलिक विकटता र जनसंख्याको घनत्वका आधारमा ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकता साथ विस्तार गर्ने बाचा पनि रास्वपाले गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रम थप सुदृढ मोडलमा गुणस्तरीय स्वास्थ्य सेवा प्रत्येक नागरिकको पहुँचमा पु¥याउने, क्यान्सरलगायतका नसर्ने रोगमा रोकथाममुखी रणनीतिलाई मुख्य लक्ष्य बनाएर काम गर्ने रास्वापाको बाचापत्रमा छ ।
प्रत्येक प्रदेशमा कम्तिमा एक अत्याधुनिक अपांगता पुनस्र्थापना विशिष्टीकृत स्रोत केन्द्र स्थापना गरी सेवा सुनिश्चित गर्ने, जलन पीडितहरुको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न जलन उपचार कोष स्थापना र विश्वस्तरीय विशेष जलन अस्पताल निर्माण प्रक्रिया सुरु गर्ने योजना पनि उसले अगाडि सारेको छ । यस्तै, मानसिक स्वास्थ्य सेवालाई नागरिकको सहज पहुँचमा पु¥याउने योजना रास्वपाको छ ।
