काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रेजिडेन्ट चिकित्सकहरु आन्दोलित भएका छन् । आइतबार न्याम्सका रेजिडेन्टहरुले एक घण्टा धर्ना दिएर आन्दोलन सुरु गरेका हुन् ।
न्याम्स र रेजिडेन्ट एशोसिएसन अफ न्याम्स (र्यान)बीच पाँच महिनाअघि भएको सहमति कार्यान्वयन नभएपनि रेजिडेन्ट चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । ‘आइतबार हामीले एक दुई घण्टा धर्नाको कार्यक्रम राख्यौं,’ ¥यानका अध्यक्ष डा. प्रकाश खरेलले भने, ‘भोलिसम्म माग पूरा नभए आकस्मिक र अन्तरंग बाहेकका सेवा बहिष्कार गर्छौ ।’
गत असोजमा र्यानले गरेको आन्दोलनका क्रममा न्याम्ससँग निर्वाह भत्ता र नाइट ड्युटी भत्ता समयमै उपलब्ध गराउने, ओपीडी समयले रेजिडेन्ट डाक्टरहरुको कक्षा तालिका र खाजा समय असर नपर्ने गरी मिलाउने, रेजिडेन्टहरुको हेल्थ इन्स्युरेन्स गर्ने, लाइबेरी समयअनुकूल आधुनिकीकरण र व्यवस्थित गराउनेदगायतका सहमति भएको थियो ।
तर, लामो समय बितिसक्दा पनि न्याम्सका पदाधिकारीले सहमति कार्यान्वयन नगरेपछि रेजिडेन्टहरु आन्दोलनमा उत्रिएका हुन् । ‘र्यानमा नयाँ समिति आएपछि यो समस्या समाधान गर्न पहल गरेका थियौं । २६ माघमा डिन अफिसमा बैठक गर्न निवेदन दिएपनि कारवाही नभएपछि रेजिडेन्ट स्वतस्फूर्त आन्दोलनमा उत्रिएका छौं,’ अध्यक्ष खरेलले भने ।
