काठमाडौं—चर्चित फुटबलर तथा नेपाली महिला राष्ट्रिय टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि नेपाली कांग्रेसले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले उपचार सहयोग स्वरुप साम्बाको खातामा नेपाली कांग्रेसले पाँच लाख रुपैयाँ जम्मा गरिदिएको जानकारी दिए ।
‘यसै सन्दर्भमा, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको छ,’ दुलालले विज्ञप्तीमा भनेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत साम्बाले आफ्नो घुँडाको शल्यक्रियाका लागि ८० हजार अमेरिकी डलर खर्च हुने भएकाले उपचारमा आर्थिक सहयोगका लागि आग्रह गरेकी थिइन् । नेपाली कांग्रेसले साम्बाको उपचारमा सहयोग पु¥याउनु सबैको कर्तव्य भएको उल्लेख गरेको छ ।
७ हप्तादेखि चोटका कारण साम्बा मैदान बाहिर छन् । आर्थिक अभावकै कारण शल्यक्रिया समयमा हुन नसकेको उनले बताएकी छन् । ‘सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो । तर अझैपनि म उपचारको लागि भौतारिएको छु,’ साम्बाले सोमबार फेसबुकमा लेखेकी थिइन् ।
साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि उनले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको जानकारी दिएकी छन् ।
उनले उपचारका लागि एन्फालाई आग्रह गर्दा पर्याप्त सहयोग नपाएको गुनासो पनि उनले गरेकी छन् ।
