काठमाडौं—काठमाडौं मेडिकल कलेज (केएमसी)ले चर्चित फुटबलर तथा नेपाली महिला राष्ट्रिय टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ नेपालमा उपचार गर्न तयार निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । सोमबार अस्पतालका प्रमुख नारायणप्रसाद दाहालले साम्बाले उपचारका लागि आर्थिक सहयोगको आग्रह गरेको कुराले गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं नेपालमै उपचार गर्न तयार भए निःशुल्क उपचार गर्ने जनाएका हुन् ।
‘साम्बाले सामाजिक सन्जालमार्फत उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने उपचारका लागि सहयोगको अपिल गरेको सन्दर्भमा राष्ट्रकी गहना साम्बा नेपालमै उपचार गर्न तयार भए देशको एक अब्बल उपचार संस्थाका रुपमा रहेको काठमाडौं मेडिकल कलेज उनलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछ,’ केएमसीले भनेको छ । केएमसीले राष्ट्रकी गहना साम्बाको उपचारप्रति जिम्मेवार र संवेदनशील रहेको जनाएको छ ।
सोमबार सामाजिक सञ्जालमार्फत साम्बाले आफ्नो घुँडाको शल्यक्रियाका लागि ८० हजार अमेरिकी डलर खर्च हुने भएकाले उपचारमा आर्थिक सहयोगका लागि आग्रह गरेकी थिइन् ।
साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । जसका कारण ७ हप्तादेखि उनी मैदान बाहिर छन् ।
काठमाडौं मेडिकल कलेज व्यवसायी तथा पूर्व सांसद सुनिल शर्माको स्वामित्वको मेडिकल कलेज हो ।
