काठमाडौं—२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा अस्पताल तथा स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहने भएका छन् । निर्वाचन आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार अस्पताल र स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न लागिएको हो ।
आयोगले सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता (फस्ट एड) सेवा सम्बन्धित मतदानस्थलमा नै उपलब्ध गराउने व्यवस्था गर्ने निर्देशन दिएको छ ।
‘त्यसको व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा लेखी पठाइएको जानकारीका लागि अनुरोध छ,’ आयोगले भनेको छ ।
आयोगले अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्ने गरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिसकेको जनाएको छ ।
आयोगबाट भएको निर्णय र पत्राचार बमोजिमका आवश्यक सहयोगको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।