आगामी फागुन २८,२९ र ३० गते भृकुटीमण्डपमा १० औं नेपाल फर्मा एक्स्पो हुँदैछ । १० औं फर्मा एक्स्पोसम्म आइपुग्दा नेपाली औषधी उद्योगको अवस्था, बजारीकरण, गुणस्तर र नीतिगत विषयमा नेपाल औषधी उत्पादक संघ (एप्पोन)का अध्यक्ष विप्लव अधिकारीसँग हेल्थआवाजले गरेको कुराकानी :
१० औं नेपाल फर्मा एक्स्पो यसअघिका भन्दा के फरक हुनेछ ?
सामान्यतयाः एक्स्पोहरु सम्बन्धित विषयको जानकारी एकै ठाउँबाट दिनलाई आयोजना गरिन्छ । हामीले गर्दै आएको नेपाल फर्मा एक्स्पोको यो १० औं संस्करणसम्म आइपुग्दा नेपाली औषधी उद्योगले कस्ता— कस्ता प्रविधि प्रयोग गरी औषधी उतपादन गरिरहेका छन् । विश्वमा नयाँ—नयाँ प्रविधि चाँडो—चाँडो परिवर्तन भइरहेका छन् । तिनलाई नेपाली उद्योगले पनि आत्मासात गरेर अगाडि बढेको छ ।
नेपाली औषधी उद्योगले विश्वस्तरकै गुणस्तरीय औषधी कसरी उत्पादन गरिरहेका छन् भन्ने कुराको जानकारी दिनलाई यो एक्स्पो आयोजना गरिएको हो । यहाँ नेपाली उद्योगहरुले प्रयोग गर्दै आएका प्रविधिहरुका बारेमा जानकारी दिइन्छ । युरोप, अमेरिका, भारत र जर्मन प्रविधिमा प्रयोग भएका उपकरण नै हामीले पनि प्रयोग गरिरहेका छौं भन्ने कुरा आममानिसलाई सुसूचित गराउन पनि यो एक्स्पो हुँदैछ । दुई वर्षअघि र अहिलेको प्रविधिमा के विकास भएको छ त्यो देखाउने हो ।
यसले नेपाली फर्मा उद्योग, नेपाल सरकार र नेपाली जनतालाई के फाइदा पुग्छ ?
हामीले उत्पादन गरेका सबै औषधी सेवन गर्ने नेपाली जनताले नै हो । कसरी उत्पादन गर्छौ, त्यसको गुणस्तर कसरी कायम हुन्छ, कस्ता—कस्ता टेक्नोलोजीको प्रयोग हुन्छ भन्ने पारदर्शिता त्यहाँबाट हुन्छ । उद्योगले आफ्नो बारेमा जानकारी दिन सहज हुन्छ, सरकारलाई नीतिगत सहजता हुन्छ । जनताले आफूले कसरी उत्पादन भइरहेको औषधी सेवन गरिरहेको छु, औषधीमा नयाँपन के—के आएको छ भन्ने कुराको जनाकारी हुन्छ ।
नेपाली औषधीको बजार ५० प्रतिशत र विदेशी औषधीको बजार ५० प्रतिशत भन्छौं ? समग्रमा नेपालको औषधी बजारको आकार कति हो ? हामीले उत्पादन गरिरहेका औषधी कस्ता हुन र बाहिरबाट ल्याउनैपर्ने यो ५० प्रतिशत औषधी कस्ता हुन् ?
नेपालमा आवश्यक झण्डै ७० प्रतिशत औषधी नेपालमा नै उत्पादन हुन्छन् । हामीले ५० प्रतिशत बजार ओगटेको क्षेत्र हो । हामीले यहाँ उत्पादन गरिरहेका धेरै औषधीहरु बाहिरबाट पनि आउँछन् । नेपालको समग्र औषधी बजार ६० अर्बको हो, त्यसमा ३० अर्ब नेपाली औषधी कम्पनीको बजार रहेको छ । हामीले अहिले उत्पादन गर्न गाह्रो भइरहेको भ्याक्सिन हो । इन्जेक्टेबल र क्यान्सरको पनि सुरु भइसकेको छ । भ्याक्सिनको पनि तयारी भइरहेको छ । गुणस्तरको कुरा गर्ने हो भने नेपाली औषधी उद्योगले बनाएका औषधी सतप्रतिशत गुणस्तरीय छन् । बाहिरबाट आउने औषधी पनि यहाँ उत्पादन हुन्छन्, विशेषगरी भ्याक्सिनहरु भने अहिलेसम्म बाहिरबाटै ल्याउनु परेको छ ।
किन सबै नेपाली उद्योगहरुले प्रायः एकै प्याटर्नका औषधीमा मात्र सिमित हुन्छन् ? नेपालमा अहिले आयात बढी गरिरहनुपरेका औषधी निर्माण गर्नतर्फ ध्यान नगएको हो कि सम्भावना नभएको हो ?
हामीले अहिलेसम्म बनाउन नसकेको भनेको भ्याक्सिन र बायोलोजिकल प्रडक्ट हो । बायोलोजिकल प्रडक्टका लागि पनि सुरु भइसकेको छ । बजारको मागमा नसर्ने रोग र दैनिक सेवन गर्नुपर्ने औषधी बढी भएको हुँदा बजारलाई हेरेर उत्पादन भइरहेको छ । बाहिरबाट आउने भनेको पनि अघिकांश औषधी तिनै हुन् ।
नेपालका औषधी उद्योगहरुको बजारीकरणको र गुणस्तर अवस्था कस्तो छ ?
सामान्यतयाः संविधानले स्वास्थ्यलाई राज्यको दायित्वभित्र तोकेको छ । त्यहीअन्तर्गत राज्यले यत्रो ठू्रलो मात्रामा औषधी खरिद गर्छ । कम्तिमा राज्यले खरिद गर्ने औषधी नेपाली औषधी उद्योगबाट लिने वातावरण बन्नुपर्छ, यसले हाम्रो औषधी उद्योग सहजै चल्न सक्छ । औषधीको एउटा गोली भनेको जीवन मरणको सवाल हुन्छ, प्राप्तिसँग सम्बन्धित हुन्छ । कुनै समय भारतले २६ बटा मोलीक्युल नेपाललाई नदिने भनेर भन्दा यहाँ पारासिटामोल हाहाकार भएको देश हो । हामी अहिले बनाउन सक्ने अवस्थामा छौं भने त्यसको उपयोग नेपाल सकारले स्वदेशी उद्योगमार्फत गर्नुपर्छ । बजारभन्दा ठूलो कुरा यहाँ दायित्व हो, बजारमा हामी अब्बल छौं । नेपालमा ४ देखि ५ सय मल्टीनेसनल कम्पनी बजारमा छन्, उनीहरुसँग प्रतिस्पर्धा भइरहेको छ ।
अर्को कुरा नेपालमा उद्योगलाई अगाडि बढाउने नीतिहरु लिएको पाइदैंन्, त्यसले समग्र उद्योगहरु नै फस्टाउन नसकेको अवस्था छ । औषधी उद्योगको मात्र समस्या होइन । हामीले नेपालमा उत्पादन हुने विदेशबाट आयात गर्न रोक्यौ भने २ वर्षभित्रमा धेरै उद्योग धेरै फड्को मार्न सक्ने अवस्थामा पुग्थे । गुणस्तरको कुरा हेर्ने हो भने आगामी एक्स्पोमा आफै उपस्थित भएर हेर्न सक्नुहुनेछ । नेपालको औषधी उधोग विश्व परिवेसको कुन अवस्थामा पुगेको छ भन्ने कुरा आफ्नै अगाडि हेर्न सक्नुहुनेछ । त्यही भएर विश्व परिवेसमा जुनस्तरको औषधी बन्छ, नेपालमा पनि त्यही गुणस्तरको औषधी बन्छ । गुणस्तरका हिसाबले नेपाली औषधी उद्योग कमजोर छैन ।

नयाँ ऐनको मस्यौदा पनि तयार भएको भन्ने छ ? त्यसमा व्यवसायीको तर्फबाट सहजीकरण हुनुपर्ने कानुनी प्रबन्ध कतिको समेटिएको पाउनुभएको छ ?
औषधी ऐन परिवर्तनको कुरा त हौवा मात्र हो । ८ देखि १० वटा ड्राफ्ट त मसँग नै छन् । पछिल्लो समय बनाइएको ड्राफ्ट पनि अपुरै छ, संसदमा पेश भएकै छैन । संसदमा नै पेश नभएको अवस्थामा औषधी ऐन नयाँ आउँछ र हुन्छ भन्ने कुरा धेरै सोच्न सक्म्दैनौं । धेरै ड्राफ्ट बनेका छन्, धेरै मुद्धामा बहस भइरहेको छ । कम्तिमा नयाँ औषधी ऐन बनेर आउनुपर्छ भन्ने हो ।
सरकारले तत्काल सम्बोधन गर्नुपर्ने र दीर्घकालीन रुपमा सम्बोधन गर्नुपर्ने विषय के—के हुन् ?
अहिलेको प्रमुख कुरा भनेको एलडिसी ग्राजुएसन (कम विकसितबाट विकसित राष्ट्र)मा जादैंछौं । अहिले कम विकसित मुलकमै भएको कारणले गर्दा ट्रिभ्सको वेवर प्रयोग गरिरहेका छौं । यतिबेला नेपालमा पेटेन्ट लाग्दैन, नेपालमा यही समयमा नेपाल सरकारले नेपालमा कसरी नयाँ मोलीक्युल बनाउ सकिन्छ र बजारीकरण गर्न सकिन्छ भन्ने एउटा नीति बनाउनु जरुरी छ । अर्को, औषधीको दायरा फराकिलो भएको छ । आजको दिनमा न्युट्रासिटीकल्सलगायतका वस्तुहरुको बजार पनि अत्यन्त राम्रो भएको छ । हामी नेपाली औषधी उद्योगीहरुसँग बनाउन सक्ने क्षमता पनि छ । हामीसँग प्रविधी र ज्ञान पनि छन् भने त्यस्ता उत्पादनहरु स्वदेशी औषधी उद्योगबाट बनाउनका लागि प्रेरित गरी कानुन बनाउनुपर्छ । कुनै कानुनले रोकेको भए त्यो कानुललाई परिवर्तन वा रोक्नुपर्छ । नेपाली औषधीमैत्री कानुन बनाउनुपर्छ ।
अब उद्योग प्रवर्द्धन, गुणस्तर नियमन र मुल्य समायोजनका लागि फरक—फरक निकाय आवश्यक भएको हो ?
दक्षिण एसियामा नै हे¥यौ भने भारत, बंगलादेश र आजको दिनमा भुटान हे¥यौ भने औषधी उद्योगमा धेरै फड्को मारेको छ । हाम्रो क्षेत्रको यति धेरै अवसर छ भने नेपालले पनि नीतिगत परिवर्तन गरेर त्यो अवसरलाई आत्मासात गर्नुप¥यो । कतिपय नेपाली औषधी उद्योगीको उत्पादन पनि विदेशमा गइसकेको छ । हामीले पनि निर्यात गर्न सुरु गरिसकेका छौं । यसलाई प्रवर्द्धन गर्न नेपाल सरकारले छुट्टै निकाय बनाएर औषधी प्रवर्द्धनका लागि बोर्ड नै आवश्यक छ । नियामक निकायमा जनशक्ति बढाउनुपर्छ, व्यवस्थित बनाउनुपर्छ, स्रोत साधन उपलब्ध गराएर छिटो—छरितो ढंगले उत्पादन र बजारीकरण गर्न सक्ने बनातारण नेपाल सरकारले बनाइदिन सक्यो भने औषधी उधोगहरु विदेशमा निर्यात गर्न सक्षम छन् ।