२०८२ फागुन २३, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय

स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय


विराटनगर -मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशा झा विजयी भएकी छिन् । १६ वर्षसम्म स्वास्थ्य स्वयंसेविकाका रूपमा भुईँतहका जनताको सेवा गरेकी आशा झाले ‘हेभीवेट’ नेताहरूलाई भारी मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेकी छिन् ।

आशा झाले ३० हजार ४३४ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फुलकुमार लालवानीले मात्र ९ हजार ४१५ मत पाए । झाले झण्डै २१ हजारको मतान्तरले जित निकाल्दा अन्य चर्चित उम्मेदवारहरूको अवस्था निकै कमजोर देखियो ।

जसपाका राजकुमार यादवले ८ हजार ७४७ मत ल्याएर तेस्रो भए भने नेकपाका नेता तथा पूर्वमन्त्री शिवकुमार मण्डलले ८ हजार ६१४ मत ल्याएर चौथो भए । एमालेका मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत ल्याएर पाँचौ भए । निवर्तमान सांसद योगेन्द्र मण्डलले ४ हजार १९९ मत ल्याए ।

विराटनगर–१३ की स्थायी बासिन्दा झा एक मध्यमवर्गीय कृषक र कर्मचारी परिवारबाट उदाएकी हुन् । जनस्वास्थ्यमा स्नातक गरेकी उनले विराटनगर महानगरपालिकामा १६ वर्षभन्दा बढी समय स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिन् । यही अनुभवले उनलाई जनताको आधारभूत समस्या बुझ्न मद्दत गर्‍यो । उनी मधेस मूलकी पहिलो महिला निर्माण व्यवसायी समेत हुन् । सामाजिक सेवा, धार्मिक संस्था गायत्री परिवार र वातावरण संरक्षणका क्षेत्रमा उनको सक्रियता पहिलेदेखि नै थियो ।

लामो समय स्वतन्त्र रूपमा सामाजिक काम गरेकी झालाई देशको राजनीतिक अस्थिरताले पिरोल्यो । ‘हिजोका दलहरू जनताका लागि दलदल बनिसकेका थिए, जहाँ जनतालाई फसाउने काम मात्र हुन्थ्यो । देशलाई हँसाउन र जनता बचाउन मैले नयाँ बाटो रोज्नुपर्‍यो,’ उनले भनिन् । रास्वपाको एजेन्डासँग विचार मिलेपछि उनी वैकल्पिक राजनीतिको यात्रामा होमिएकी थिइन् ।

संसदमा अबको एजेन्डा रोजगारी र कृषि

संसदमा पुगेपछि झाको मुख्य प्राथमिकता बेरोजगारी समस्या समाधान गर्ने हुनेछ । मोरङ ५ बाट युवाहरू विदेश पलायन भइरहेकोमा चिन्तित उनी भन्छिन्, ‘घर–घरबाट युवाहरू विदेशिएका छन् । अब स्वदेशमै कलकारखाना खोल्ने र कृषिलाई आधुनिक प्रणालीमा लैजाने मेरो मुख्य लक्ष्य हुनेछ ।’ उनले आफूले बोलेका कुरा ४–५ वर्षभित्रै पूरा गरेर देखाउने प्रतिबद्धता समेत जनाएकी छिन् ।

आफ्ना श्रीमान् अमृत कुमार झा र तीन सन्तानको पूर्ण सहयोग पाएकी आशा झा अब मोरङको बलियो आवाज बनेर सदनमा देखिनेछिन् । उनको यो सफलताले निष्ठापूर्वक गरिएको सामाजिक सेवाले ढिलो–चाँडो राजनीतिक प्रतिफल दिन्छ भन्ने उदाहरण पेश गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ