काठमाडौं—प्रतिनिधिसभाको निर्वाचनमा पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्रीद्वय गिरिराजमणि पोखरेल र राजेन्द्र महतो पराजित भएका छन् । पोखरेल महोत्तरी १ मा र राजेन्द्र महतो सर्लाही २ मा महतो पराजित भएका हुन् ।
राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बनेका पूर्वमन्त्री महतो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतोसँग पराजित भएका हुन् । रविनले ४२ हजार ५१२ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले ८ हजार ५२३ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डा. सरोजकुमारले ७ हजार ३९ मत ल्याए ।
चौथो स्थानमा पुगेका राजेन्द्रले ५ हजार ९९२ मत ल्याएर पराजित भएका हुन् ।
यस्तै, अर्का पूर्व स्वास्थ्यमन्त्री पोखरेल पनि रास्वपाका उम्मेदवार प्रमोदकुमार महतोसँग पराजित भएका हुन् । महतोले ३४ हजार ६३६ मत ल्याएर विजयी हुँदा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पोखरेलले १२ हजार ६३४ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९१, नेपाली कांग्रेस मुकेशराज काफ्ले ६ हजार २१३ प्राप्त गरे ।
पर्सा–१ मा नेकपा एमालेबाट उम्मेदवार बनेका पूर्व स्वास्थ्यमन्त्री प्रदीप यादव पराजित भएका छन् । उनी रास्वपाका वुद्धिप्रसाद पन्तसँग पराजित भएका हुन् ।
पन्त २७ हजार २७४ मतसहित विजयी हुँदा यादवले भने १३ हजार ३० मत ल्याएर पराजित भए ।