काठमाडौं—प्रतिनिधिसभा निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्री तथा जनसंख्या मन्त्रीहरु पराजित भएका छन् । आइतबार साँझसम्मको निर्वाचन परिणामअनुसार देशका विभिन्न निर्वाचनबाट १० जना पूर्व स्वास्थ्यमन्त्रीहरुले पराजय बेहोरेका हुन् ।
पराजित हुने पूर्व स्वास्थ्यमन्त्रीहरुमा गगनकुमार थापा, उपेन्द्र यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, गिरिराजमणि पोखरेल, प्रदीप पौडेल, भानुभक्त ढकाल, पदम गिरी, प्रदीप यादव, शेरबहादुर तामाङ रहेका छन् ।
सर्लाही ४ बाट नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा पराजित भएका हुन् । थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अमरेश कुमार सिंहसँग पराजित भए । सिंहले ३५६८८ मत ल्याएर विजयी भए भने थापा २२८३१ मतका साथ पराजित भए ।
पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल काठमाडौं ५ बाट रास्वपाका सस्मित पोखरेलले २१ हजार ५७८ मतान्तरले पराजित गरेका हुन् । रास्वपाका पोखरेलले ३० हजार ७३७ मत ल्याएर विजयी भए भने पौडेलले ९१५९ मत ल्याए ।
पूर्व उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरीसँग पराजित भएका हुन् । जनता समाजवादी पार्टीका अध्यक्ष रहेका यादव १७ हजारभन्दा बढी मतान्तरले पराजित भएका हुन् । रास्वपाका चौधरी ३२ हजार ८७५ मतसहित विजयी हुँदा यादवले १५ हजार २३९ मत ल्याएका छन् ।
राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बनेका पूर्वमन्त्री राजेन्द्र महतो सर्लाही २ मा रास्वपाका रविन महतोसँग पराजित भए । रविनले ४२५१२ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले ८५२३ मत प्राप्त गरे । चौथो स्थानमा पुगेर पराजय भोगेका राजेन्द्रले ५९९२ मत ल्याएर पराजित भएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट महोत्तरी १ मा उम्मेदवार बनेका पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल पनि रास्वपाका उम्मेदवार प्रमोदकुमार महतोसँग पराजित भए। महतोले ३४६३६ मत ल्याएर विजयी हुँदा पोखरेलले १२६३४ मत प्राप्त गरे ।
पर्वतबाट एमाले उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका पदम गिरी पराजित भएका छन् । पर्वतबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर भुसाल २६५६१ मत ल्याएर विजयी हुँदा पूर्व स्वास्थ्यमन्त्री रहेका गिरी तेस्रो नम्बरमा रहे । उनले १५०७५ मत मात्रै प्राप्त गरे ।
एमालेबाटै पाँचथरमा उम्मेदवार रहेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बासँग पराजित भए । सुब्बाले ११५६१ मत ल्याएर विजयी हुँदा ढकालले १०६८२ मत मात्रै ल्याएर पराजित भए ।
सिन्धुपाल्चोक २ बाट एमालेको तर्फबाट उम्मेदवार बनेका पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि पराजय निकट छन् । सिन्धुपाल्चोक २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल २१६९९ मतसहित विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङले १९१४६ मत ल्याए । तेस्रो बनेका पूर्व स्वास्थ्यमन्त्री तामाङले १५९२६ मत पाए ।
पर्सा–१ मा नेकपा एमालेबाट उम्मेदवार बनेका पूर्व स्वास्थ्यमन्त्री प्रदीप यादव पराजित भएका छन् । उनी रास्वपाका वुद्धिप्रसाद पन्तसँग पराजित भएका हुन् ।
पन्त २७ हजार २७४ मतसहित विजयी हुँदा यादवले भने १३ हजार ३० मत ल्याएर पराजित भए ।
नवलपरासी पश्चिम —१ मा पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विक्रम खनाल ४५२४१ मतका साथ निर्वाचित भएको उक्त क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७८३२ मत मात्रै ल्याए । खनालका प्रमुख प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका विनोदकुमार चौधरीले ९ ५०२ मत पाए । एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६ पाए ।