२०८२ फागुन २७, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारनिर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा

निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा


नेपालको हालै सम्पन्न निर्वाचन २०८२ ले देशको राजनीतिक र सामाजिक जीवनमा एउटा महत्वपूर्ण सन्देश दिएको छ—जनता अब परिवर्तन चाहन्छन्। लामो समयदेखि राजनीतिक अस्थिरता, पहुँचवाद र कमजोर व्यवस्थापनका कारण राज्यका धेरै क्षेत्रहरू प्रभावित भएका छन्। तीमध्ये स्वास्थ्य क्षेत्र पनि एउटा महत्वपूर्ण क्षेत्र हो, जहाँ राजनीतिक हस्तक्षेप, प्रशासनिक जटिलता र व्यवस्थापकीय कमजोरीका कारण सेवा प्रवाहमा समस्या देखिँदै आएको छ।

यस्तो अवस्थामा अहिलेको जनमतले एउटा नयाँ आशा जगाएको छ। यदि यो सन्देशलाई नीति र व्यवहारमा रूपान्तरण गर्न सकियो भने नेपालको स्वास्थ्य क्षेत्र सुधारको दिशामा अघि बढ्न सक्छ।

बाल्यकालबाटै स्वास्थ्य क्षेत्रसँगको परिचय

मेरो बाल्यकाल नै स्वास्थ्य क्षेत्रसँग जोडिएको वातावरणमा बित्यो। बाबा स्वास्थ्य सेवामै सरकारी कर्मचारी हुनुहुन्थ्यो। त्यसैले हाम्रो परिवारको जीवन स्थिरभन्दा पनि सरुवा–बदलीसँग जोडिएको थियो।

त्यतिबेला स्वास्थ्य क्षेत्रमा दुई–दुई वर्षमै सरुवा हुने चलन सामान्यजस्तै थियो। प्रायः असोज वा पुस महिनामा सरुवा हुन्थ्यो र त्यसको प्रत्यक्ष प्रभाव हाम्रो परिवारमा पर्थ्यो। हामीले पटक–पटक विद्यालय परिवर्तन गर्नुपर्थ्यो, नयाँ ठाउँमा घुलमिल हुनुपर्थ्यो।

बाल्यकालमा यस्तो अनुभवका कारण मलाई सरकारी स्वास्थ्य सेवाप्रति खासै आकर्षण थिएन। मनमा कहिलेकाहीँ यस्तो सोच पनि आउँथ्यो—‘सरकारी सेवामा के जानु’ । तर, जीवनको यात्रा कहिलेकाहीँ त्यही बाटोतिर मोडिन्छ, जुन बाटोबारे हामीले कहिल्यै सोचेका हुँदैनौँ।

सेवा यात्राको सुरुवात

स्वास्थ्य क्षेत्रमा मेरो यात्रा करार सेवाबाट सुरु भयो। सुरुका दिनहरूमा मैले स्वास्थ्य प्रणालीको अर्को वास्तविकता नजिकबाट देख्ने अवसर पाएँ।

कतिपय अवस्थामा इमान्दारीपूर्वक काम गर्दा पनि कर्मचारीहरूबीचको व्यवहार, प्रशासनिक प्रक्रिया र व्यवस्थापनका जटिलताहरूले मन दुखाउने अवस्था आउँथ्यो । स्थायी कर्मचारी बच्चालाई स्तनपान गराउन भन्दै निस्कन्थे । मैले एनआईसीयुमा १० दिन राखेको बच्चालाई स्तनपान गराउन जान पाउँदैन्थे । तर, त्यही अनुभवहरूले स्वास्थ्य सेवाको वास्तविक महत्व पनि बुझ्न मद्दत गर्‍यो।

ती कुराले नै दोस्रो सन्तान छोरी जन्मिएपछि सुत्केरी बिदामा बसिरहेको बेला मैले जीवनको एउटा महत्वपूर्ण निर्णय लिएँ—लोकसेवा आयोगको तयारी गर्ने। त्यो समय चुनौतीपूर्ण थियो। परिवार, जिम्मेवारी र अध्ययन सँगसँगै अघि बढाउनु सजिलो थिएन। तर, दृढ इच्छाशक्तिले बाटो खोलिदियो।

अन्ततः म पहिलो प्रयासमै लोकसेवामा नाम निकाल्न सफल भएँ। त्यो मेरो जीवनको एउटा महत्वपूर्ण मोड थियो।

अस्पतालमा काम गर्ने अनुभव

मेरो पहिलो नियुक्ति प्रादेशिक अस्पतालमा भयो। अस्पतालमा काम सुरु गर्दा मैले एउटा कुरा महसुस गरें—परिवर्तनको कुरा गर्नु सजिलो हुन्छ । तर, व्यवहारमा परिवर्तन ल्याउनु निकै गाह्रो हुन्छ। सुरुमा एक्लै हुन्थे ।

मेरो सोच सधैं एउटै थियो—बिरामीले सकेसम्म छिटो र गुणस्तरीय सेवा पाउनुपर्छ। त्यसका लागि टिमवर्क आवश्यक हुन्छ। त्यसैले सहकर्मीहरूसँग मिलेर राम्रो कार्य संस्कृति निर्माण गर्ने प्रयास गरियो।

तर, सुरुका दिनहरू सजिला थिएनन्। केही अग्रजहरूले कहिलेकाहीँ भन्नुहुन्थ्यो—‘अहिले तपाईं नयाँ हुनुहुन्छ, जोश छ। पछि आफैं बुझ्नुहुन्छ।’ कहिलेकाहीँ शब्द र व्यवहार दुवैले मन दुखाउने अवस्था आउँथ्यो।

मैले एउटा निर्णय लिएको थिएँ—जुनसुकै परिस्थिति आएपनि इमान्दारीपूर्वक काम गर्ने र सुधारको प्रयास नछोड्ने। साथ पाउँदै गएँ, सुधार गर्न सकियो ।

कोभिड अनुभव र दुर्गम सेवा

संघमा समायोजन भएपछि विभिन्न ठाउँमा काम गर्ने अवसर मिल्यो। विशेषगरी कोभिड–१९ को पहिलो लहरको समयमा अस्थायी कोभिड अस्पतालमा काम गर्ने अनुभव निकै महत्वपूर्ण रह्यो।

त्यो समय स्वास्थ्यकर्मीहरूका लागि अत्यन्त कठिन थियो। सिमित स्रोत, जोखिमपूर्ण अवस्था र निरन्तर कामको दबाबका बीच पनि स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी निभाइरहेका थिए।

त्यसपछि दुर्गम क्षेत्रमा काम गर्ने अवसरले नेपालको स्वास्थ्य सेवामा रहेको असमानता अझ स्पष्ट रूपमा देखायो। सहर र दुर्गम क्षेत्रबीचको सेवा पहुँचको अन्तर अझै ठूलो रहेको अनुभूति भयो।

राजनीतिक हस्तक्षेपको प्रभाव

स्वास्थ्य क्षेत्रको वास्तविक चुनौती केवल स्रोतको अभाव मात्र होइन, व्यवस्थापन र राजनीतिक हस्तक्षेप पनि हो । नीति निर्माणदेखि नियुक्ति, बजेट वितरणदेखि उपकरण खरिदसम्म धेरै क्षेत्रमा राजनीतिक प्रभाव देखिने गरेको छ।

कतिपय अवस्थामा अस्पताल पुगेको बिरामीले उपचारभन्दा बढी सिफारिस खोज्नुपर्ने अवस्था पनि देखिन्छ। यस्तो परिस्थिति स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा स्वीकार्य हुन सक्दैन्।

निर्वाचन २०८२ को सन्देश

यही पृष्ठभूमिमा अहिलेको निर्वाचन २०८२ लाई हेर्दा एउटा महत्वपूर्ण सन्देश देखिन्छ। व्यक्तिको हार–जित राजनीतिमा सामान्य कुरा हुन सक्छ।

तर, जब जनताले पुरानो राजनीतिक संस्कृतिप्रति असन्तुष्टि व्यक्त गर्न थाल्छन्, त्यो केवल चुनावी परिणाम मात्र हुँदैन—त्यो परिवर्तनको संकेत हुन्छ।

आजको जनमतले यही संकेत दिएको छ।

स्वास्थ्य सेवामा अपेक्षित सुधार

स्वास्थ्य सेवाको मुख्य उद्देश्य जनतालाई सरल, सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउनु हो।

अस्पताल पुगेको एउटा गरिब बिरामीले उपचारका लागि कसैको ढोका ढकढक्याउँदै सिफारिस खोज्दै हिँड्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ।

ओपीडीमा पुगेको बिरामीले ओपीडीबाटै र वार्डमा भर्ना भएको बिरामीले वार्डबाटै आवश्यक प्रक्रिया पूरा गरेर सेवा पाउन सक्ने व्यवस्था हुनुपर्छ।

सिफारिस संस्कृतिको अन्त्य

स्वास्थ्य क्षेत्रमा सिफारिस संस्कृति अन्त्य हुनु अत्यन्त आवश्यक छ।

असक्त र गरिबका लागि बनाइएको उपचार कोष वास्तविक गरिबका लागि प्रयोग हुनुपर्छ, पहुँच भएका व्यक्तिका लागि होइन।

गरिब बिरामीले उपचारका लागि गाउँ—गाउँमा चन्दा उठाउँदै हिड्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ।

व्यवस्थापन सुधार

अस्पताल व्यवस्थापनमा पारदर्शिता अत्यन्त आवश्यक छ। उपकरण खरिद र सामग्री व्यवस्थापनमा स्पष्ट मापदण्ड लागू हुनुपर्छ।

विगतमा कमिसन, बार्गेनिङ र अनावश्यक सामग्री पठाउने प्रवृत्तिका कारण धेरै अस्पताल प्रभावित भएका उदाहरणहरू छन्।

अब अस्पतालको वास्तविक आवश्यकता मूल्याङ्कन गरेर मात्र सामग्री खरिद गरिनुपर्छ।

निजी स्वास्थ्य संस्थाको व्यवस्थापन

संघीयता कार्यान्वयनपछि निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूको नवीकरण र अनुगमन प्रक्रियामा पनि विभिन्न समस्या देखिएको गुनासो सुनिने गरेको छ।

कतिपय अवस्थामा मापदण्डको वास्तविक मूल्याङ्कनभन्दा पनि बार्गेनिङ र आर्थिक दबाबको चर्चा हुने गरेको छ।

यदि यस्ता घटनाहरू भएका छन् भने त्यसको निष्पक्ष छानबिन हुनु आवश्यक छ। अनुगमन प्रक्रिया पारदर्शी, मापदण्ड–आधारित र निष्पक्ष हुनुपर्छ।

प्रशासनिक स्पष्टता

स्वास्थ्य सेवामा संघ र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँडफाँट हुनुपर्छ।

संघीयता भनेको द्वन्द्व होइन—समन्वय र सहकार्य हो।

दुवै तहका सरकारले सहकार्यका साथ काम गर्दा मात्र जनताले वास्तविक लाभ प्राप्त गर्न सक्छन्।

भविष्यको आशा

पटक–पटक निराश भएर राजीनामा दिने सोच पनि मनमा आएको थियो। तर, अहिलेको राजनीतिक परिवर्तनले फेरि एउटा आशा जगाएको छ।

यदि निर्वाचन २०८२ ले दिएको सन्देशलाई नीति र व्यवहारमा उतार्न सकियो भने नेपालको स्वास्थ्य क्षेत्र वास्तवमै परिवर्तनको दिशामा अघि बढ्न सक्छ।

त्यो दिन सायद धेरै टाढा नहोला—जब कुनै गरिब बिरामी अस्पताल पुग्दा उपचार पाउनका लागि सिफारिस खोज्नु पर्दैन,चन्दा उठाएर आएको बिरामी (नसक्ने बिरामी)को सरकारी अस्पतालमा EHS -Extended Hospital. Service (विस्तारित अस्पताल सेवामा) उपचार गर्न बाध्य हुन पर्दैन,
र आफ्नो पीडा बारम्बार सुनाउनु पनि पर्दैन।

कतिपय अवस्थामा स्वास्थ्य संस्थाहरूमा भ्याकेन्सी खुलेजस्तो गरेर बीच–बीचमा मनपर्ने राजनीतिक झोलेहरूका मानिसहरूलाई भित्र्याउने प्रवृत्ति पनि देखिएको छ। यस्तो पहुँचका आधारमा गरिने नियुक्तिले संस्थाभित्र अनावश्यक असन्तुष्टि र असहज वातावरण सिर्जना गर्छ।

यस्ता व्यक्तिहरूलाई काम लगाउन पनि गाह्रो हुन्छ र उनीहरूबाट अपेक्षित परिणाम प्राप्त गर्न पनि कठिन हुन्छ। यसले संस्थाको कार्यसम्पादन र सेवा प्रवाह दुवैलाई प्रभावित बनाउँछ।

बीच—बीचमा हुने राजनीतिक हस्तक्षेपका कारण स्वास्थ्य संस्थाभित्र काम गर्ने वातावरण पनि प्रभावित हुने गरेको अनुभव धेरैले गरेका छन्। अब यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ। नियुक्ति र जिम्मेवारी योग्यता, क्षमता र आवश्यकताका आधारमा हुनेछ ।

त्यो दिन नै नेपालको स्वास्थ्य क्षेत्रले साँचो अर्थमा परिवर्तनको अनुभूति गर्नेछ।

चतिया , वाणगंगा, ११ कपिलवस्तु


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ