धरान—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कलेज अफ नर्सिङमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा ल्याइएको छ । बुधबार प्रतिष्ठानका उपकुलपति प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ ल्याबको रिटन काटेर उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
नर्सिङ शिक्षालाई अझ प्रभावकारी, व्यवहारिक तथा गुणस्तरीय बनाउने उद्देश्यसहित स्थापना गरिएको उक्त स्किल्स ल्याब उद्घाटन कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला, शैक्षिक डीन प्रा.डा. अनुप घिमिरे, परीक्षा डीन प्रा.डा. अन्जु प्रधान, कलेज अफ नर्सिङका चिफ प्रा. रमानन्द चौधरी, मेट्रोन कला थापा, कलेज अफ नर्सिङका विभागीय प्रमुखहरु, शिक्षकहरु, कर्मचारी र विद्यार्थीलगायतको उल्लेख्य उपस्थिति रहेको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिए ।
नयाँ स्थापना गरिएको स्किल्स ल्याबमा बिरामी हेरचाहस“ग सम्बन्धित प्रायोगिक अभ्यासका सामाग्रीहरु (मानिसको अस्थिपञ्जर प्रणालीको मोडेल, म्यानिकिन, आधुनिक उपकरण तथा सिमुलेसन सामग्री लगायत विरामीहरुलाई नर्सिङ केयर गर्दा आवश्यक पर्ने सामाग्री तथा उपकरणहरु आदि) राखिएको डा. श्रेष्ठले जानकारी दिए । सो क्रममा उपकुलपतिलगायत पदाधिकारीले ल्याबको निरीक्षण गरेका थिए । यस्तै, मेडिकल सर्जिकल नर्सिङ, चाइल्ड हेल्थ नर्सिङ, मेटर्नल हेल्थ नर्सिङ, साइकयाट्रिक नर्सिङका शिक्षकहरुले आ–आफ्नो विभागअन्तर्गतको सामाग्रीहरुको बारेमा संक्षिप्त रुपमा अवगत गराएका थिए ।

निरिक्षण कार्यक्रम पश्चात् चिफ प्रा. चौधरीले प्रस्तुतीमार्फत विस्तृत रुपमा सो स्किल ल्याबका बारेमा जानकारी दिएका थिए । सो क्रममा उनले नर्सिङ शिक्षामा प्रायोगिक सीप अत्यन्तै महत्वपूर्ण रहेको बताए । ‘स्किल्स ल्याबमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीसँग प्रत्यक्ष रुपमा काम गर्नुअघि सुरक्षित वातावरणमा विभिन्न नर्सिङ प्रक्रिया तथा उपचार विधिहरू अभ्यास गर्ने, सिक्ने अवसर पाउनेछन्,’ उनले भने, ‘यस प्रकारका सिमुलेसन–आधारित अभ्यासले विद्यार्थीहरूको आत्मविश्वास बढाउँछ ।’ प्रा. चौधरीले बिरामीको सुरक्षालाई पनि थप सुनिश्चित गर्नुका साथै नर्सिङ सेवालाई गुणस्तरीय बनाउने विश्वास व्यक्त गरे ।
स्किल्स ल्याबमा अभ्यास गरे पश्चात् विद्यार्थीहरूले आधारभूत देखि उन्नत स्तरसम्मका नर्सिङ्ग सीपहरू आर्जन गर्न सक्नेछन । यसले नर्सिङ्ग शिक्षालाई अझ व्यवहारमुखी बनाउँदै दक्ष र सक्षम नर्स उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । स्किल्स ल्याबको स्थापना प्रतिष्ठानको नर्सिङ शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने महत्वपूर्ण कदम भएको र भविष्यमा यसले स्वास्थ्य सेवाको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरेको प्रवक्ता डा. श्रेष्ठले बताए ।
प्रतिष्ठानका उपकुलपति प्रा. डा. विक्रमप्रसाद श्रेष्ठले स्किल्स ल्याबको प्रभावकारी उपयोगमार्फत नर्सिङ विद्यार्थीरूको सीप विकास, अनुसन्धान प्रवद्र्धन तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।