काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालमा औषधिमा धेरै काम भएको भएपनि अझै गर्नुपर्ने धेरै कामहरु रहेको बताएकी छन् । बिहीबारबाट नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा भृकुटीमण्डपमा सुरु भएको १० औं फर्मा एक्स्पो २०२६ को उद्घाटन गर्दै मन्त्री डा. शर्माले सो कुरा बताएकी हुन् ।
‘औषधिमा धेरै भएको छ, गर्नुपर्ने काम धेरै छन्,’ डा. शर्माले भनिन्, ‘सरकारले सहयोग गर्नुपर्छ ।’ उनले आफू स्वास्थ्यमन्त्री भएर आएपछि स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरेको उल्लेख गरिन् ।
बीमाले औषधि महंगोमा किन्नुपरेको बताउँदैं उनले उत्पादकले पनि औषधिमा मुल्य नपाउने अवस्था रहेको बताइन् । ‘त्यो समस्या समाधानका लागि डिडिएलाई सुदृढीकरण गर्नुपर्छ,’ मन्त्री डा. शर्माले भनिन्, ‘जिएमपी सर्टिफिकेट भनेको एसईई पास भएजस्तो, कोही ए प्लस, कोही जस्ट पास छन् । सबैलाई डिस्टिङ्सन गराउनुपर्छ ।’ औषधि उत्पादनमा कच्चा पदार्थ राम्रो हुनुपर्ने उनको भनाइ थियो ।
मन्त्री डा. शर्माले गुणस्तर कायम गर्न औषधि प्रयोगशालाको क्षमतासँगै भौतिक पूर्वाधार सुधार गर्नुपर्नेमा जोड दिइन् । ‘सुधारका लागि जनशक्ति थप गर्न सुरु भएको छ,’ उनले भनिन्, ‘ओएनएमको लागि तयारी गर्दैछौं ।’ सही तरिकाले अगाडि गएमा अबको दुई वर्षमा अत्याधुनिक ल्याब्रोटोरी बन्ने उनले जानकारी दिइन् ।
ल्याब्रोटोरी राम्रो भएमा औषधिहरु अन्तर्राष्ट्रियकरण गर्न सहज हुने उनको भनाइ थियो । ‘हाम्रो ल्याब्रोटोरी राम्रो भए अन्तर्राष्ट्रियकरण गर्न सहज हुन्छ । गुणस्तर कायम गर्न दक्ष जनशक्ति पनि आवश्यक हुन्छ,’ मन्त्री डा. शर्माले भनिन् ।