२०८२ चैत्र २, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता

दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता


जुम्ला—जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतुस्थित प्रथामिक स्वास्थ्य केन्द्रमा सेवा प्रदान गर्दै आएका चिकित्सकले तलब भत्ता नपाएका गुनासो गरेका छन् । गत कात्र्तिक महिनादेखि प्रथामिक स्वास्थ्य केन्द्र कालिकाखेतु दुर्गम टाउँमा सेवा प्रवाह गर्दै आएका डा. आशिष प्याकुरेल र एक जना बीएन नर्सिङ कर्मचारी गरी दुई जनाले सेवा सुविधा नपाएका हुन् ।

चिकित्सकसमेतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रले करारमा भएपनि डाक्टर प्राप्त गरेको थियो । निर्वाध रुपमा सेवा प्रवाह गर्दै आएका चिकित्सकले समयमै सेवासुविधा तलब नपाउनु दुःखद् पक्ष हो । यस्ता समस्याले पुन दुर्गमका बिरामीले सहजै रुपमा चिकित्सकीय सेवा पाउन समस्या हुने देखिएको छ ।
छात्रवृत्ति करारमा सेवा प्रवाह गर्दै आएका स्वास्थ्यकर्मीले ४ महिनादेखि तलब भत्ता नपाएको गुनासो गरेका छन् ।

लामो समयसम्म तलब भत्ता नपाउँदा दुर्गममा बस्न र खर्च व्यवस्थापनमा समेत समस्या भएको डा. आशिष प्याकुरेलले बताए । उनले भने, ‘कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हुँदै जनस्वास्थ्य कार्यालय जुम्लामार्फत छात्रवृत्ति करारमा सेवा प्रवाह गर्न थालिएको हो । दुर्गममा काम गर्ने भनेरै आएको हो । दुर्गमका बिरामीको सेवा गर्नु पर्दछ भन्ने मान्यता हो । तर, पाउने तलब भत्ता समयमा नपाउनु दुःखद पक्ष हो । सम्बन्धित निकायले समयमा सुनुवाई गरिदिनु पर्दछ ।’

जनस्वास्थ्य कार्यालय जुम्लालाई तलब सुविधाका लागि गुनासो गर्दा पनि समस्याको समाधान नभएको उनले बताए । ‘जनस्वास्थ्यलाई भन्दा प्रदेशबाट निकास आएको छैन भन्ने कुरा छ,’ उनले भने, ‘प्रदेशमा बुझ्दा केन्द्रबाट रकम निकासा नभएको भन्ने कुरा आउँछ । यसले सेवा प्रवाहमै समस्या पार्ने देखिएको छ ।’

सरदर दैनिक २०/२५ जना बिरामी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आउने गरेका छन् । प्रसूति सेवासमेत प्रवाह गर्दै आएको प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल किसिमका बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गर्ने गरिएको डा. प्याकुरेलले बताए ।

‘यहाँको एक्सरे मेसिन पनि लामो समयदेखि मर्मत नभएर थन्किएको छ । ल्याब सेवा चलेपनि केमिकलजस्ता कुरा समय नआउँदा उपचारमा पनि समस्या हुन्छ । चिकित्सकसँग सँगै आवश्यक औजार, उपकरण, मेसिन भएपछि बिरामीले छिटो—छरितो सेवा पाउने हुन्,’ उनले भने ।

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार छात्रवृत्ति करारका चिकित्सकको तलब भत्ता संघीय सरकार स्वास्थ्य मन्त्रालयमार्फत निकासा आउने हो । ‘निकासा ढिला आएकोले समयमा तलब उपलव्ध नभएको हो,’ उनले भने, ‘हामीले कात्र्तिक महिनामै निकासा माग गरेका थियो ।’ उनले हाल रकम निकासा भएर आएको जानकारी दिए । ‘अर्थ मन्त्रालयमा रकम बाँडफाँड भएर यसै चैत महिनाको ७/८ गतेभित्रै रकम जिल्ला जिल्लामा जान्छ र चिकित्सकहरुले तलब भत्ता पाउने छन्,’ उनले थपे ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ