विराटनगर—मोरङमा क्षयरोग (टीबी) संक्रमितको संख्या वर्षेनी उकालो लाग्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय मोरङको पछिल्लो तथ्यांकअनुसार जिल्लामा संक्रमण दर मात्र नभई मृत्यु हुनेको संख्या चिन्ताजनक देखिएको हो ।
विगत ३२ महिनाको अवधिमा मोरङमा ३ हजार ४ सय ४७ जनामा क्षयरोग पुष्टि भएको छ । सोही अवधिमा संक्रमणकै कारण १ सय ५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय मोरङका अधिकृत मुलुकचन्द राजवंशीका अनुसार जिल्लामा प्रत्येक वर्ष संक्रमितको ग्राफ बढ्दो क्रममा छ ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०८०÷८१ मा मोरङमा १ हजार २ सय ७७ जना संक्रमित भेटिएका थिए भने ३० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा संक्रमितको संख्या बढेर १ हजार ३ सय ४० पुग्यो भने मृत्यु हुनेको संख्या पनि ४० पुगेको कार्यालयको विवरण छ ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (८ महिना)मा मात्रै ८ सय ३० जना नयाँ संक्रमित फेला परिसकेका छन् । यो अवधिमा ३५ जनाको मृत्यु भइसकेको छ ।
‘संक्रमितको पहिचान गर्ने दायरा बढाएसँगै बिरामीहरूको संख्या बढी देखिएको हो,’ अधिकृत राजवंशीले भने, ‘तर, मृत्युदर नियन्त्रण गर्नु हाम्रा लागि मुख्य चुनौती बनेको छ ।’
क्षयरोग बारेमा जानकारी दिदैं स्वास्थ्य कार्यालय मोरङका अधिकृत मुलुकचन्द राजवंशी ।
क्षयरोग नियन्त्रण तथा उन्मूलनका लागि जिल्लाका १७ वटै पालिकामा सक्रियता बढाइएको कार्यालयले जनाएको छ । हाल मोरङका विभिन्न १२३ वटा डट सेन्टरमार्फत बिरामीलाई निःशुल्क औषधि वितरण भइरहेको छ ।
रोग पहिचानलाई प्रभावकारी बनाउन २० स्थानमा खकार जाँच केन्द्र सञ्चालनमा छन् । यस्तै, आधुनिक प्रविधिको ‘जेन एक्सपर्ट’ जाँच सेवा विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्था (नाडा) मंगलबारे अस्पताल, नोबेल शिक्षण अस्पताल र कोशी प्रादेशिक प्रयोगशालामा उपलब्ध गराइएको छ । नाडामा औषधिले निको नभएका अर्थात औषधि प्रतिरोधी (डीआर) बिरामीहरूको विशेष उपचार भइरहेको छ ।
बीचमै औषधि छाड्ने प्रवृत्ति बाधक
स्वास्थ्यकर्मीहरूका अनुसार क्षयरोग नियन्त्रणमा सबैभन्दा ठूलो अवरोध बिरामीले बीचमै औषधि छाड्नु (ड्रप आउट) हो । ‘उपचार सुरु गरेपछि केही सुधार महसुस हुने बित्तिकै औषधि छाड्ने प्रवृत्ति छ,’ राजवंशी भन्छन्, ‘विशेषगरी भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रका गाउँहरूमा यो समस्या जटिल छ ।’ औषधि बीचैमा छाड्दा रोग झन् कडा हुने र निको हुन गाह्रो हुने प्राविधिकहरूको भनाइ छ ।
मोरङका सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी र रंगेली नगरपालिकामा क्षयरोगीको संख्या अन्य पालिकाको तुलनामा धेरै देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सरकारले सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य राखेको छ । सोही अभियानअन्तर्गत मोरङको विराटनगर महानगरपालिका, पथरीशनिश्चरे नगरपालिका र केराबारी गाउँपालिकालाई ‘क्षयरोग मुक्त पालिका’ घोषणा गर्ने तयारी भइरहेको छ ।
१० चैतमा विश्व क्षयरोग नियन्त्रण दिवस मनाइँदैछ । दिवसको अवसरमा प्रभातफेरी, निःशुल्क स्वास्थ्य परीक्षण तथा संक्रमितहरूलाई पोषणयुक्त खाद्यान्न वितरण गर्ने कार्यक्रम तय गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।