२०८२ चैत्र १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड

स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड

राष्ट्रिय औषधि प्रयोगशालाको सिंगो टिमको मेहनतका कारण आज यो सफलता मिलेको हो : निर्देशक भट्टराई


काठमाडौं—नेपाल सरकारको एक मात्र औषधिको परीक्षण गर्ने सरकारी प्रयोगशाला स्थापना भएको ६० वर्षपछि आईएसओ एक्रिडिटेसन सर्टिफाइड भएको छ । राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईका अनुसार पछिल्लो तीन वर्षको मेहनतका कारण प्रयोगशालाले आईएसओ सर्टिफिकेट पाएको हो ।

‘नेपाल सरकारको एक मात्र औषधि परीक्षण गर्ने सरकारी प्रयोगशालाले आईएसओ सर्टिफिकेट पाउनु भनेको अब अन्तर्राष्ट्रिय मापदण्डको सरकारी औषधि प्रयोगशाला भएको छ भन्ने हो,’ उनी भन्छन्, ‘यसले औषधिको गुणस्तर सुनिश्चितताको लागि थप विश्वासनीयता आर्जन गर्छ ।’

नेपाल सरकारको नीतिअनुसार नै बजेट व्यवस्थापन गर्ने, प्रयोगशालाको स्तरवृद्धिका लागि व्यवस्थापकीय काम धेरै गरेको उनले जानकारी दिए । उनले भने, ‘राष्ट्रिय औषधि प्रयोगशालाको सिंगो टिमको मेहनतका कारण आज यो सफलता मिलेको हो ।’

आईएसओ सर्टिफिकेट प्राप्त गर्नका लागि पछिल्ला तीन वर्षमा यसको व्यवस्थापन र गुणस्तरीयतामा विशेष काम गरेको निर्देशक भट्टराईले जानकारी दिए ।

वि.सं. २०२१ सालमा वन मन्त्रालयअन्तर्गत तत्कालीन शाही औषधि अनुसन्धानशालाको रुपमा स्थापना भएको प्रयोगशाला वि.सं. २०५० सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा आएको थियो ।

प्रयोगशालाले नेपालमा उत्पादन हुने र विदेशबाट आयात हुने औषधिको परीक्षण र विश्लेषण गर्ने, गुणस्तर नियन्त्रण तथा व्यवस्थापन गर्ने, गुणस्तर तथा विधि पुष्टि गर्ने काम गर्दै आएको छ ।

त्यसका साथै औषधि व्यवस्था विभागबाट प्राप्त नमुनाहरु, निजी क्षेत्रका औषधि उद्योग, विभिन्न निकाय र संस्थाबाट प्राप्त नमुना र अन्य औषधि परीक्षण गर्ने, निजी प्रयोगशालाहरुको गुणस्तर जाँच गर्ने, नियमनको अडिट गर्ने, स्वदेशमा उत्पादित, वितरित एवं विदेशबाट आयात हुने औषधिको गुणस्तर परीक्षण र विश्लेषण गर्ने, विश्लेषण विधि पुष्टि गर्ने सरकारी निकायबाट प्राप्त खोपको प्रमाणिकरण गर्ने र कुशल प्रयोगशाला अभ्यासहरुको निरीक्षण अडिट गर्ने काम राष्ट्रिय औषधि प्रयोगशालाले गर्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ