२०८३ जेठ ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने


काठमाडौं-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी स्वास्थ्य संस्थाबाट समेत गर्न सक्ने गरी प्रक्रिया अगाडि बढाएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक साहले मन्त्रीस्तरीय निर्णय गर्दै नेपाल सरकारबाट स्वीकृती प्राप्त वा नेपाल सरकारको स्वामित्वमा रहेको स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण खुला गर्ने निर्णय गरेको हो ।

यससँगै अब सरकारी अस्पताल तथा प्रयोगशालाले पनि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन् । यसअघि मन्त्रालयले सूचीकरण गरेका निजी प्रयोगशाला र स्वास्थ्य संस्थाहरुले मात्रै वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्दै आएका थिए ।

पटक पटक वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणलाई लिएर विवाद समेत हुने गरेको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ दफा (७२) को उपदफा (१० मा वैदेशिक रोजगारीमा जाने कामदारले विदेश जानुअघि नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था छ । यसैगरी, वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ क को उपनियम (९) मा नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाबाट गराउन यस नियममा भएको व्यवस्थाले बाधा पुगेको मानिने छैन भन्ने व्यवस्था छ ।

सोही कानुनी प्रबन्धमा टेकेर बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले सरकारी स्वास्थ्य संस्थाले समेत वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने गरी सूचीकरण खुला गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ