काठमाडौं—बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार गठनसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल व्यवस्थापनले सरकारको स्प्रीट बोक्ने गरी सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन १४ बुँदे निर्णय गरेको छ । १६ चैतमा बसेको व्यवस्थापन समिति बैठकले कामचोर कर्मचारीहरुलाई सरकारी नियममा बाँध्नका लागि हाजिरी अडिट समिति बनाउनेलगायतका १४ महत्वपूर्ण निर्णय गरेको हो ।
वीरमा केही काम चोर कर्मचारीहरु कार्यलय समयमा नपुग्ने, हाजिरी गरेर टाप कस्नेलगायतका गुनासाहरु व्याप्त रहेकै बेला व्यवस्थापनले कठोर कदम चाल्दैं एटेन्डेन्स अडिटका लागि सहायक निर्देशक प्रा.डा. मीनचन्द्र अधिकारीको संयोजकत्वमा हाजिरी अडिट समिति गठन गर्ने निर्णय गरेको हो । यस्तै, अस्पतालको सरसफाइ चुस्तदुरुस्त राख्न अस्पतालकी प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले व्यवस्थापनको निर्णय हिजोबाटै कार्यन्वयनमा आइसकेको बताए । ‘हामीले वीरको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने गरी यी निर्णयहरु गरेका हौं,’ डा. शर्माले भने, ‘जुन निर्णयहरु हिजै बाट कार्यन्वयनमा आइसकेका छन् ।’ यसले वीरको सेवा प्रवाहलाई गतिशील र प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरे ।
चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङलगायतका प्रशासनिक र अन्य कर्मचारी समयमै अनिवार्य रुपमा उपस्थित हुनुपर्ने, कार्यलय समयमा नपुग्ने अवस्था सिर्जना भएमा इञ्चार्जमार्फत अस्पताल प्रशासनलाई जानकारी गराउने, हाजिरीको सूचना आवश्यकताअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बन्धित निकायलाई जानकारी गराउने निर्णय पनि बैठकले गरेको छ । सबै कर्मचारीहरुलाई राज्यका निकायबाट नियमन हुने र बिना जानकारी कार्यलय समयको गयललाई नियमानुसार कारवाही सिफारिस हुने बैठकको निर्णयमा छ ।
यस्तै, विहान ९ः००—५ः०० को कार्यलय समयमा पुग्न ढिला भएमा मनासिव कारणसहित निर्देशकको ह्वाट्सएप ग्रुपमा जानकारी दिनुपर्ने र नदिएमा ९ः३० बजेपछि र ४ः३० बजे अगाडिलाई गयल मानिने र क्या.वि. आधा दिन लिनुपर्ने निर्णयमा उल्लेख छ । सम्पूर्ण चिकित्सक, नर्स र पारोडिक्स र अन्य कर्मचारीहरुको विभागीय प्रमुख र इञ्चार्जले ड्युटी रोष्टर बनाउनुपर्ने र रोष्टरअनुसार ड्युटीमा नभेटिएमा इञ्चार्ज र विभागीय प्रमुखलाई जानकारी गराउनुपर्नेछ । ‘यदि सम्बन्धित चिकित्सक कार्यकक्षमा नभेटिएमा सम्बन्धित एचओडीलाई सचेत गराइनेछ,’ निर्णयमा छ, ‘र, सो कर्मचारीको एटेन्डेन्सको अवस्था माथिल्लो निकाय मन्त्रालयमा समेत जानकारी गराइनेछ ।’
वीर व्यवस्थापनले बिरामी पुर्जा, डिस्चार्ज समरी, रिपोर्टमा नाम, एनएमसी नम्बर, हस्ताक्षर प्रष्ट रुपमा बुझिने गरी लेख्नुपर्ने, स्वास्थ्य बीमा बोर्डको निर्देशनअनुसार डिस्चार्ज समरीमा अत्यावश्यक सूचना प्रष्टसँग लेख्नुपर्ने, स्वास्थ्यकर्मी, नर्स र डाक्टरले एप्रोन र परिचय पत्र अनिवार्य रुपमा लगाउनुपर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी, सार्वजनिक विदाबारे र कार्यलय समय १ बैशाख २०८३ देखि विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म र १५ कात्तिकदेखि १५ माघसम्म ९ बजेदेखि ४ बजेसम्म निर्धारणका गर्न निर्णयका लागि कार्यकारी परिषद्मा पेश गर्ने पनि बैठकको निर्णयमा छ ।
बैठकले ओटी, क्याथ ल्याब, इभनिङ राउण्डमा अनकल चिकित्सक÷स्वास्थ्यकर्मीलाई इञ्चार्ज र विभागीय प्रमुखको सिफारिसमा पफर्मेन्स बेस्ड इन्सेन्टीभ दिन विगतको प्रतिवेदनअनुसार गर्ने गरी कार्यकारी निर्णयका लागि परिषद्मा पेश गर्ने, वीरका सबै स्वास्थ्यकर्मी तथा कर्मचारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय, सर्तकर्ता केन्द्रलगायतको उच्च निकायको निगरानी रहने भएकाले कार्यलय समयमा खटाइएको ठाउँमा नभेटिए यसको सजाय स्वयं कर्मचारीले भोग्नुपर्ने निर्णयमा छ ।
वीरले फार्मेसीमा औषधिको उपलब्धता चुस्त बनाउने, सेवाग्राहीलाई छिटो—छरितो सेवा प्रवाह गर्ने र फार्मेसीमा उपलब्ध औषधिको स्टकबारे सेवाग्राहीलाई जानकारी दिने निर्णय पनि गरेको छ । साथै, अब वीरका स्वास्थ्यकर्मी तथा कर्मचारीले सेवाग्राहीसँग शिष्ट, सभ्य, मर्यादित र सालिन मुस्कानका साथ प्रस्तुत हुनुपर्नेछ भने रुखो व्यवहार र कार्यशैली बन्द गर्नुपर्नेछ ।