२०८२ चैत्र २५, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सच्चिन श्रममन्त्री साहको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सच्चिन श्रममन्त्री साहको आग्रह


काठमाडौं—श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले स्वास्थ्य बीमाका सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सच्चिन आग्रह गरेका छन् । बुधबार दशौं स्वास्थ्य बीमा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दैं उनले स्वास्थ्य बीमा अहिलेको दयनीय अवस्थामा रहनुको प्रमुख जिम्मेवारी स्वास्थ्य मन्त्रालयको भएको बताए ।

‘स्वास्थ्य मन्त्रालयलाई सच्चिन म आग्रह गर्दछु । अहिले स्वास्थ्य बीमा दयनीय अवस्था हुनु प्रमुख जिम्मेवारी स्वास्थ्य मन्त्रालय हो,’ मन्त्री साहले भने । स्वास्थ्य बीमा सही दिशामा नरहेको बताउँदैं उनले सबैले आत्मआलोचना गर्नुपर्ने बताए ।

देशकै लक्ष्य आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने संविधानमा प्रबन्ध रहेको उल्लेख गर्दै मन्त्री साहले स्वास्थ्य सेवामा आफैमा सबैको मौलिक अधिकार भएको बताए । ‘सबैको जीवनमा प्रभाव पार्ने स्वास्थ्य बीमा कमजोर स्थितीमा नभएर बलियो अवस्थामा हुनुपर्छ र त्यो हामी सबैको साझा दायित्व बन्नुपर्छ,’ उनले भने, ‘स्वास्थ्य बीमालाई राम्रो र व्यवस्थित बनाउनु सबैको साझा दायित्व हो ।’

बिमित र अस्पतालले नकारात्मक मनशायका साथ काम गर्दा समेत यो अवस्थामा आएको उनको भनाइ थियो । ‘स्वास्थ्य बीमा सामाजिक सुरक्षाको आधारस्तम्भ हो । यो सबै नागरिकको मौलिक अधिकार हो,’ उनले थपे । स्वास्थ्य सेवा संविधानमा मौलिक अधिकारका रुपमा लेखिएको उल्लेख गर्दै त्यसलाई घरघरमा पु¥याउने साझा दायित्व भएको बताए । सामाजिक सुरक्षाका कार्यक्रम छरिनुले पनि यो अवस्थामा आएको उनको भनाइ थियो । उनले यही अवस्थाबाट स्वास्थ्य बीमा अगाडि बढ्न नसक्ने ठोकुवा गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डिल्लीराम शर्माले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको कानुनी र संवैधानिक अधिकार भएको बताए । उनले १० वर्षमा स्वास्थ्य बीमामा ९८ लाख जनता आवद्ध भएर सेवा पाउनु ठूलो सफलता भएको बताए ।

तर, स्वास्थ्य बीमा विभिन्न समस्या र चुनौतीहरु देखिएका कारण सुधार गरेर अगाडि बढ्नुपर्ने बताए । ‘स्वास्थ्य बीमाका समस्याहरु गहन अध्ययन, विश्लेषणका साथ सुधार गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘स्वास्थ्य बीमा बोर्ड र मन्त्रालयको समन्वयमा धेरै सुधारका कार्यहरु अगाडि बढाइसकेका छौं ।’

१० वर्षमा पनि स्वास्थ्य बीमा बोर्डको संगठन संरचना पनि स्वीकृत नभएको उनले बताए । ‘प्रमुख चुनौती स्रोतको समस्या हो,’ उनले भने, ‘सबैंको साथ, सहयोगले यो समस्या पनि हल हुनेछ ।’

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठले स्वास्थ्य बीमा संकटमा रहेको बताउँदैं संघर्षबाट अगाडि बढ्नुपर्ने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकालले स्वास्थ्य बीमाले उपचार गर्न नसक्नेलाई उपचार गर्न सक्ने भरोसा दिलाएको बताए । ‘सामान्य अवस्थाका बिरामीका लागि यसले ठूलो टेवा दिएको छ,’ उनले भने, ‘सबै मिलेर स्वास्थ्य बीमालाई अगाडि बढाउनुपर्छ ।’

स्वास्थ्य बीमा बोर्डले ‘राज्यको लगानी नागरिकको योगदानः स्वास्थ्य बीमा साझा अभियान’ नाराका साथ दशौं स्वास्थ्य बीमा दिवस मनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ