२०८२ चैत्र २७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकानुन विपरीत औषधिको मूल्यवृद्धि प्रकरणमा ढकालमाथि छानविन गरेर ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

कानुन विपरीत औषधिको मूल्यवृद्धि प्रकरणमा ढकालमाथि छानविन गरेर ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन


काठमाडौं -कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल छानविनको दायरामा परेका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयलाई तत्काल छानविन गर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयले स्वास्थ्य सचिवलाई पत्राचार गर्दै ७ दिनभित्र छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । सो निर्देशनपछि ढकाललाई मन्त्रालयमा तानिएको छ ।

पत्रमा प्रचलित कानूनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरिएको भनी प्रधानमन्त्री कार्यालयमा उजुरी परेको उल्लेख गरिएको छ ।

‘औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भनी यस कार्यालयमा उजुरी प्राप्त भएकोले सो विषयमा के कसो भएको हो, औषधिको मूल्य निर्धारण प्रक्रिया के हो, उक्त प्रक्रिया पूरा गरी काम भएको हो वा होइन, औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको भए को कसको संलग्नता रहेको हो सो सम्बन्धमा सम्पूर्ण विषय समेट्ने गरी तथा मन्त्रालयबाट विषयगत विज्ञको सहायतामा तीन सदस्यीय छानबिन समिति गठन गरी यस कार्यालयलाई सात(७) दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशनानुसार अनुरोध छ,’ पत्रमा छ ।

यसका लागि विषयगत विज्ञहरू समेटिएको तीन सदस्यीय छानविन समिति गठन गरी निर्धारित समयभित्र प्रतिवेदन बुझाउन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

हेल्थआवाजले लामो समयदेखि ढकालले कानुन विपरित औषधिमा आफूखुसी मुल्यवृद्धि गर्दै आएको समाचारहरु प्रकाशित गर्दै आएको छ । बुधबार रास्वपाका सांसद राजीव खत्रीले संसदमा उक्त कुरा जोडदार रुपमा उठाएका थिए ।

यही विषयमा उनी विरुद्धको मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चलिरहेको छ । तर, अख्तियारले पनि चार वर्षदेखि उक्त मुद्धामाथि कारवाही अगाडि बढाएको छैन ।

Screenshot


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ