काठमाडौं-अब सरकारी अस्पतालमा पनि दुई दिन विदा हुने भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुको तीब्र दबाब झेल्न नसकेपछि सरकारी अस्पतालमा पनि शनिबार र आइतबार विदा दिने निर्णय गरेको हो ।
सरकारले दुई दिन विदा दिने निर्णय गरेपछि २७ चैतमा स्वास्थ्य तथा जनसंख्याले बिरामीको चापलगायतका कारण देखाउँदैं आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयका सूचना अधिकारी भक्त केसीले ग्लोबल प्रयाक्टिस दुई दिन विदा दिने रहेको र स्वास्थ्यकर्मीलाई सट्टा विदा पनि दिन नसकिने भएकाले सरकारी अस्पतालमा पनि अब दुई दिन सर्वाजनिक विदा दिने निर्णय मन्त्रालयले गरेको बताए । ‘ग्लोबल प्रयाक्टिस पनि दुई दिन विदा नै रहेछ’, केसीले भने, ‘स्वास्थ्यकर्मीलाई सट्टा विदा दिन नसकिने भएकाले अब सरकारी अस्पतालहरुमा पनि दुई दिने विदा दिने निर्णय भयो ।’
उनले सरकारी अस्पतालहरुमा इमर्जेन्सी अलि बढी फोकस गर्ने गरी दुई दिन नै सार्वजनिक विदा दिने निर्णय भएको बताए ।
यसअघि स्वास्थ्यकर्मी आवद्ध विभिन्न संघसंस्थाहरुले दुई दिने विदाको आफ्नो अधिकार कटौती नगर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाथि तीब्र दबाब सिर्जना गरेका थिए । जसका कारण स्वास्थ्य मन्त्रालय आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने आफ्नो पूर्ववत निर्णयबाट ब्याक भएको हो ।