काठमाडौं—पूर्व सांसद सुनिल शर्माको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको एक वर्षको कारोबार ३ अर्ब ४१ करोड बढी रहेको छ । फाइनान्सियल तथ्यांकअनुसार सन् २०२५ मा मेडिकल कलेज शिक्षण अस्पतालले ३ अर्ब ४१ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो ।
मेडिकल कलेजले सन् २०२४ मा २ अर्ब ५१ करो ५० लाख रुपैयाँको कारोबार गरेको थियो । यस्तै, सन् २०२३ मा २ अर्ब १९ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।
नोबेल मेडिकल कलेजले सन् २०२२ मा २ अर्ब ६२ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब २८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । नोबेलले २०२० मा २ अर्ब ५० करोड ६० लाख रुपैयाँ र २०१९ मा २ अर्ब ३० करोड रुपैयाँको व्यापार गरेको थियो।
सन् २००३ मा कन्चनवारी मोरङमा स्थापना भएको नोबेल मेडिकल कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा र एलाइड हेल्थका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नोबेलमा डिएम, एमसीएच, एमएस/एमडी, एमबीबीएस, बिडिएस, बीपीटी, बीएस्सी नर्सिङ, एमएलटी, बीएमएलटीलगायतका कार्यक्रम चलिरहेका छन् ।
नोबेल मेडिकल कलेजका नोबेल क्यान्सर अस्पताल प्रा.लि., नोबेल एडभान्स इन्भेष्टमेन्ट प्रा.लि. र नोबेल हस्पिटल फार्मेसी प्रा.लि. गरी तीन वटा सब्सीडरी कम्पनीहरु छन् । यस्तै, नोबेल मेडिकल कलेजको काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा पनि २० प्रतिशत स्वामित्व छ ।
नेपाल भारत सीमा नजिक, पर्याप्त भौतिक पूर्वाधार र प्रतिस्पर्धात्मक सेवा शुल्कलगायतका कारण नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पूर्वी क्षेत्रमा बिरामीको चाप बढी हुने अस्पतालमा पर्छ । ७७५ शय्याको शिक्षण अस्पताल चलाइरहेको नोबेलमा सन् २०२५ मा ७१ प्रतिशत अकुपेन्सी रहेको थियो । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले त्यसबाहेक ठूलो आम्दानी एमबीबीएसलगायतका शैक्षिक कार्यक्रमबाट गर्दै आएको छ ।