काठमाडौं—कलंकीस्थित १०० शय्याको शहीद मेमोरियल अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा समीर शर्मा नियुक्त भएका छन् । ६ बैशाखदेखि लागु हुने गरी अस्पतालले खुला प्रतिस्पर्धाबाट छनोट भएका ३० वर्षीय शर्मालाई अस्पतालको सिईओमा नियुक्त गरेको हो ।
अस्पतालको पदपूर्ति समितिले लिखित र अन्तर्वार्तामार्फत पाँच वर्षका लागि नयाँ प्रमुख कार्यकारी अधिकृत चयन गरेको हो । ३० चैतमा लिखित र अन्तर्वार्ता दुवैको नतिजामा पहिलो नम्बरमा आएका शर्मा ११ औं तहको सिईओमा नियुक्त हुने निश्चित भएको थियो ।
अस्पतालको पहिलो सिईओका रुपमा कार्यभार सम्हालेका शर्माले सर्वसुभल शुल्कमा बिरामीलाई सेवामा दिने अस्पतालका रुपमा विकास गर्न आफ्नो प्रयास रहने बताए ।
अस्पताल व्यवस्थापनमा लामो अनुभव हासिल गरेका शर्मा यसअघि नेपाल नेशनल अस्पतालको हस्पिटल म्यानेजर थिए । त्यहाँ रहँदा उनले हस्पिटल म्यानेजमेन्ट, प्रशासकीय पक्षमा उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेपछि सन् २०२२ मा ‘इम्प्लोय अफ द इयर’ समेत भएका थिए ।

एचए पृष्ठभूमीबाट आएका शर्मासँग हस्पिटल प्रशासन, क्लिनिकल कोर्डिनेसन, मेडिकल अडिट, क्वालिटी इम्प्रुभमेन्ट, मेडिकल डकुमेन्टेसन, स्वास्थ्य सेवा व्यवस्था र शिक्षण सम्बन्धी झण्डै एक दशक लामो अनुभव छ ।
उनी सन् २०२३ देखि नेपाल नेशनल हस्पिटलको हस्पिटल म्यानेजरका रुपमा सक्रिय छन् । सन् २०२० देखि सन् २०२१ सम्म उनले नेपाल नेशनल हस्पिटलअन्तर्गत रहँदा यति अस्पतालको हस्पिटल कोर्डिनेटरको भूमिका समेत निभाएका थिए ।
शर्मासँग प्रशस्त एकेडेमिक अनुभव पनि छ । उनी विभिन्न कलेजहरुमा पार्टटाइम लेक्चररका रुपमा कार्यरत छन् ।

पोखरा युनिभर्सिटीबाट हेल्थकेयरमा स्नातक गरेका शर्माले सोही युनिभर्सिटीबाट हेल्थकेयर म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् । उनी क्लिनिक अडिटमा बेइजिङस्थित क्यापिटल मेडिकल युनिभर्सिटीबाट पिएचडी गर्दैछन् । उनले झण्डै डेढ दर्जन बढी राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्वपूर्ण तालिम समेत लिएका छन् ।
सिईओ शर्मा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघका केन्द्रीय सदस्यसमेत हुन् ।
शहीद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित शहीद मेमोरियल अस्पतालको आफ्नै जनस्वास्थ्य कलेज समेत सञ्चालनमा छ ।